नेपाली कांग्रेसका सभापति गगन थापाले सुरूङभित्र रहेका मानिसहरूको उद्धारमा बाह्य मुलुकको पनि मद्दत लिन आग्रह गरेका छन्।
आफूले परराष्ट्र मन्त्री शिशिर खनाललाई टेलिफोन गरेर सुरूङभित्र रहेका मानिस उद्धार गर्न बाह्य मुलुकको पनि सहयोग लिन सुझाव दिएको उनले बताए।
‘हामीसँग भएको विज्ञताले मात्र सुरूङमा उद्धार गर्न सम्भव छैन भन्ने जानकारी आएपछि मैले परराष्ट्रमन्त्रीलाई सम्पर्क गरी वाह्य मुलुकबाट मद्दत लिन आग्रह गरेको छु,’ सभापति थापाले आज केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा भने।
उनले उद्धार र राहतमा जुट्न कांग्रेस कार्यकर्ताहरूलाई आग्रहसमेत गरेका छन्।
साथै। हरितालिका तीज लगायतका पर्वहरूलाई सामान्य रूपमा मनाउन उनले आग्रह गरेका छन्।
बाढीपहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिको समयमा सरकारलाई पूर्ण सहयोग गर्दै उद्धार तथा राहत कार्यमा देखिएका कमजोरीबारे ध्यानाकर्षण कांग्रेसले गराउने निर्णय पनि गरेको छ।
विपद्को समयमा सरकारलाई सहयोग गर्नु प्रतिपक्षी दलको कर्तव्य भएको उनले बताए।
सरकारका काममा रहेका ‘ग्याप’ र कमजोरी औंल्याउनु आलोचना नभई सहयोग नै भएको उनले बताएका छन्।