प्रधानमन्त्री वालेन्द्र शाहले आफन्त गुमाएर पीडामा रहेका नागरिकलाई अनावश्यक टिप्पणी गर्ने, हियाउने तथा गिज्याउनेमाथि सरकारले कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री शाहले शनिबार फेसबुकमार्फत यस्तो चेतावनी दिएका हुन् । भोटेकोसी बाढीमा आफन्त गुमाएर अथाह पीडामा रहेका नागरिकको आक्रोश स्वाभाविक भएको उल्लेख गर्दै उनले उनीहरूको पीडालाई संयमतापूर्वक बुझ्न आग्रह गरेका छन् ।
‘एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश, आक्रोशभन्दा बढी पीडा व्यक्त गर्ने माध्यम हो । हामीले उहाँहरूको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्छ,’ प्रधानमन्त्री शाहले लेखेका छन् ।
उनले यस्तो संवेदनशील समयमा पीडामा रहेका मानिसहरूमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी भएको बताएका छन् ।
‘यस संवेदनशील घडीमा पीडामा रहेका मानिसहरूमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् । ती अपराधीहरूप्रति सरकार निर्मम हुनेछ,’ प्रधानमन्त्री शाहले भनेका छन् ।