रसुवासहित बाढी तथा पहिरो प्रभावित विभिन्न क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार, राहत, सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारलाई निरन्तरता दिएको छ ।
नेपाली सेनाका अनुसार शनिबार साँझ ७ बजेसम्म हवाई साधनमार्फत ३९ जना नागरिकको उद्धार गरिएको छ । शनिबार उद्धार गरिएकामध्ये दुई जना विदेशी नागरिक छन् । उनीहरूमध्ये एक जना अमेरिकी र एक जना चिनियाँ नागरिक रहेका छन् ।
हालसम्म नेपाली सेनाले हवाई साधनमार्फत २७५ जना विदेशी नागरिकसहित जम्मा ३ हजार ९९७ जनाको उद्धार गरेको जनाएको छ ।
नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले एक्रो ब्रिज जडानको काम गरिरहेको छ ।
सुरुङमा खोजी जारी
रसुवागढी जलविद्युत् आयोजनामा संयुक्त उद्धार टोलीले खोजी कार्य जारी राखेको छ । टोली पावर हाउसको छैटौँ तलासम्म पुगेर खोजी गर्दा कोही फेला नपरेको सेनाले जनाएको छ । पाँचौँ तलासम्म लेदोले भरिएको अवस्थामा रहेकाले थप खोजी कार्य भइरहेको छ ।
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोज तथा उद्धारका लागि नेपाली सेनाका ७५, सशस्त्र प्रहरी बल, नेपालका १८ तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ ।
त्यस्तै, त्रिशूली–३ ‘बी’ मा नेपाली सेनाका ८९, गैरसैनिक तीन जना र आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोलीले तीनवटा ‘बबक्याट’ र जेनेरेटर प्रयोग गरी खोजी गरिरहेको छ । ‘अडिट–२’ टनेलबाट एक्स्काभेटर प्रवेश गर्न सक्ने गरी बाटोसमेत सफा गरिएको छ ।
चिलिमे हाइड्रोमा विदेशी नागरिकसहितको संयुक्त टोलीले मिनी एक्स्काभेटर र मड पम्पको सहायताले लेदो हटाउने काम गरिरहेको छ । टोली पुनः १०५ मिटरभित्रसम्म पुगेको र खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ ।
माथिल्लो त्रिशूली–१ को हाकुस्थित टनेलमा विदेशी नागरिकसहितको संयुक्त उद्धार टोलीले टनेलको २५० मिटरभित्रबाट चिनियाँ नागरिक लु हाइताओको जीवित उद्धार गरेको छ । सोही क्रममा थप दुईवटा शवसमेत फेला पारेर उद्धार गरिएको छ । टनेलमा रहेको लेदो हटाउँदै थप खोज तथा उद्धार कार्य जारी छ ।
३२९७ जनाले पाए स्वास्थ्य सेवा
नेपाली सेनाले प्रभावित क्षेत्रको मैलुङदेखि स्याफ्रूबेसीसम्म पैदल गस्ती गरी खोज तथा उद्धार गरिरहेको छ ।
सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट शनिबार ३१ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ । हालसम्म ती केन्द्र तथा मेडिकल पेट्रोलबाट ३ हजार २९७ जनाले स्वास्थ्य सेवा पाएका छन् ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन् । उनीहरूले समन्वयात्मक रूपमा घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारको काम गरिरहेका छन् ।