प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिएका सुरक्षाकर्मीको योगदानको उच्च कदर गरिने बताएका छन् ।
विपद् व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई सामाजिक सञ्जालमार्फत सन्देश दिँदै प्रधानमन्त्री शाहले सुरक्षाकर्मीको सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता नगर्ने बताएका हुन् ।
‘तपाईंहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण सङ्कटका बेला लाखौँ मानिसले सुरक्षित महसुस गर्न पाएका छन् । कार्यक्षेत्रमा खटिनुहुने प्रत्येक सुरक्षाकर्मीको योगदानको उच्च कदर हुनेछ’, उनले भने ।
प्रधानमन्त्री शाहका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीको संयुक्त प्रयासमा बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३९१ जनाको उद्धार गरिएको छ । सुरक्षाकर्मीले घाइतेलाई स्थलमार्ग, हेलिकप्टर तथा कतिपय अवस्थामा आफ्नै काँधमा बोकेर अस्पताल पुर्याएका छन् ।
प्रभावित क्षेत्रमा शव व्यवस्थापन, महामारी तथा सङ्क्रामक रोग फैलिन नदिन आवश्यक काम र शिविरमा रहेका प्रभावितलाई हौसला प्रदान गर्नसमेत तीनै सुरक्षा निकायका सुरक्षाकर्मी अहोरात्र खटिरहेको प्रधानमन्त्री शाहले बताए ।
‘कठिन भूगोल र प्रतिकूल मौसमका बाबजुद हाम्रा सुरक्षाकर्मी बाढीले थुपारेको दलदल र भग्नावशेषमा खोस्रिरहनुभएको छ । प्रभावितको पीडा गहिरोसँग बुझेर आफ्नो थकान र तनाव भुल्दै अहोरात्र खोज तथा उद्धारमा खटिरहनुभएको छ’, उनले भनेका छन् ।
बाढीका कारण नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका १२ जना अझै सम्पर्कविहीन रहेको प्रधानमन्त्री शाहले उल्लेख गरे ।
आफ्ना साथीहरू सम्पर्कविहीन हुँदाको पीडाका बाबजुद सुरक्षाकर्मी उद्धार तथा खोजीमा खटिरहेको उनको भनाइ छ । अझै बाढी आउनसक्ने सूचना रहेकाले नागरिकलाई सचेत गराउन माइकिङ गर्नेदेखि होल्डिङ सेन्टरमा सुरक्षाका लागि दिनरात खटिनेसम्मका काम सुरक्षाकर्मीले गरिरहेको उनले बताए ।
प्रधानमन्त्री शाहका अनुसार नेपाली सेनाले बाढी आएलगत्तै सैनिक मुख्यालयको योजनाअनुसार नुवाकोटको त्रिशूली बट्टारस्थित मैथिल ब्यारेकमा उपरथीको नेतृत्वमा ‘फरवार्ड हेडक्वार्टर’, ‘इमर्जेन्सी मेडिकल रेस्क्यु टिम’ र मुख्य ‘फरवार्ड एयर बेस’ स्थापना गरी उद्धार कार्य सञ्चालन गरिरहेको छ ।
त्यस्तै, रसुवाको धुन्चे ब्यारेकमा सहायक रथीको नेतृत्वमा ‘ट्याक्टिकल हेडक्वार्टर’, चिकित्सकसहितको ‘फरवार्ड मेडिकल टिम’ तथा अतिरिक्त ‘एयर बेस’ सञ्चालनमा छन् ।
सेनाले प्रभावित क्षेत्रको कठिन भूगोलमा अन्य सुरक्षा निकायसँगको समन्वयमा उद्धारको अगुवाइ गरिरहेको छ । विद्युत् आयोजनाका सुरुङ क्षेत्रमा समेत खोज तथा उद्धारका लागि सेना परिचालन भएको छ । उद्धार टोलीमा सशस्त्र प्रहरीको विशेष खोज तथा उद्धार टोली र नेपाल प्रहरीको ‘डग टिम’ समेत परिचालन गरिएको छ ।
आवागमन सहज बनाउन सेनाले बेलीब्रिज निर्माण तथा सडक खुलाउने कामलाई पनि तीव्रता दिएको छ । नुवाकोटको देवीघाटमा सेनाका इन्जिनियरले ‘एक्रो ब्रिज’ जडान गरिरहेका छन् । हाल बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका नौ हजार २८७ जना खटिएका छन् ।
नेपाल प्रहरी पनि सुरुदेखि नै बाढी प्रभावित क्षेत्रमा अग्रपङ्क्तिमा रहेर खोज, उद्धार तथा राहत वितरणमा सक्रिय रहेको प्रधानमन्त्री शाहले बताए ।
तालिमप्राप्त कुकुरको प्रयोगबाट खोज तथा उद्धारलाई सहयोग पुर्याइएको, घाइतेलाई तत्काल अस्पताल पुर्याइएको तथा शव व्यवस्थापनमा प्रहरीले नेतृत्व गरिरहेको उनले उल्लेख गरेका छन् ।
जोखिमपूर्ण क्षेत्रमा निरन्तर सूचना प्रवाह गर्दै नागरिकको जिउधनको सुरक्षा तथा प्रभावित क्षेत्रमा शान्तिसुरक्षा कायम गर्न पनि प्रहरी सक्रिय रहेको उनको भनाइ छ । हाल प्रभावित क्षेत्रमा नेपाल प्रहरीका सात हजार ९७५ जना परिचालन भएका छन् ।
यसैगरी, सशस्त्र प्रहरी बल, नेपालले कठिन भूगोल र उर्लँदो भोटेकोशी–त्रिशूली नदीको जोखिमका बीच विशेष तालिमप्राप्त गोताखोर, डोरी टोलीलगायत उद्धार टोलीमार्फत खोज तथा उद्धार गरिरहेको प्रधानमन्त्री शाहले बताए ।
सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा विपद् प्रतिकार्य पोष्ट, फिल्ड कमाण्ड पोष्ट तथा १३ वटा विपद् प्रतिकार्य बेस स्थापना गरेको छ । ड्रोन स्क्वाड र केनाइन टोलीसमेत परिचालन गरिएको छ । प्रभावित क्षेत्रमा उपचार सेवा उपलब्ध गराउनुका साथै नेपाल–चीन सीमामा नेपाली झण्डा स्थापना गर्नसमेत सफल भएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।
हाल बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालका चार हजार २०३ जना खटिएका छन् । प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनमा सुरक्षाकर्मीसँगै खटिएका देश तथा विदेशका विज्ञलाई पनि धन्यवाद दिएका छन् ।
साथै, सङ्कटका बेला सुरक्षाकर्मीलाई आफ्नो जिम्मेवारीमा खटिन प्रेरित गर्ने उनीहरूका परिवारप्रति पनि उहाँले कृतज्ञता व्यक्त गरेका छन् ।