बाढीग्रस्त रसुवाका सीडीओ दुई महिनामै तानिए, पाण्डेलाई जिम्मेवारी

  • प्रकाशित मिति : २०८३ भाद्र २२, सोमबार
  • नेपाल टेल संवाददाता

गृह मन्त्रालयले बाढीग्रस्त रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नरेन्द्र परियारलाई जिम्मेवारी सम्हालेको दुई महिनामै मन्त्रालयमा तानेको छ ।

भोटेकोशी बाढीपछि विपद् व्यवस्थापन तथा खोज तथा उद्धारमा अपेक्षित प्रभावकारिता देखाउन नसकेको भन्दै परियारलाई मन्त्रालय तानिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । पछिल्लो समय रसुवामा बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाको काम जारी छ ।



परियारको स्थानमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कमलप्रसाद पाण्डेलाई रसुवाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

पाण्डेले बाढीबाट प्रभावित जिल्लामा जारी उद्धार, राहत, पुनःस्थापना, सुरक्षा समन्वय तथा अवरुद्ध सार्वजनिक सेवा व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछन् ।

परियारले आइतबारसम्म रसुवामै रहेर सोमबार मन्त्रालयमा रमाना लिने तयारी रहेको बताइएको छ। पाण्डे पनि सोमबारसम्म रसुवा पुगेर कार्यभार सम्हाल्ने तयारीमा छन्।

यसअघि भोटेकोशीमा आएको भीषण बाढीपछि रसुवामा खोज तथा उद्धार र राहतका काम तीव्र रूपमा अघि बढिरहेका छन् । गृह मन्त्रालयका अनुसार बाढीले रसुवासहित नुवाकोट, धादिङ र गोरखाका नदी तटीय क्षेत्रमा समेत ठूलो क्षति पुर्‍याएको छ ।

बाढीपछिको संवेदनशील अवस्थामा जिल्लाको प्रशासनिक नेतृत्व परिवर्तन भएपछि अब नयाँ सीडीओ पाण्डेमाथि विपद् व्यवस्थापनलाई प्रभावकारी रूपमा अघि बढाउने चुनौती थपिएको छ ।