भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

  • प्रकाशित मिति : २०८३ भाद्र २५, बिहीबार
  • नेपाल टेल संवाददाता

भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शवको पहिचानका लागि नेपाल प्रहरीले ‘डिएनए’ नमुना सङ्कलन तथा परीक्षणलाई तीव्रता दिएको छ । शव पहिचानमा हुन सक्ने त्रुटि न्यूनीकरण गर्न प्रहरीले आधुनिक ‘फोरेन्सिक’ विधि मार्फत नमुना परीक्षण अघि बढाएको हो ।

सामाखुशीस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाले बाढी प्रभावित क्षेत्र तथा मृतकका आफन्तबाट प्राप्त डिएनए नमुनाको परीक्षण गरिरहेको छ । नमुना सङ्कलनदेखि भण्डारण र परीक्षणसम्मका प्रक्रियामा वैज्ञानिक मापदण्ड तथा आधुनिक प्रविधिको प्रयोग गरिएको प्रहरीले जनाएको छ ।



प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले विपद्पछिको खोज, उद्धारसँगै शव पहिचानलाई प्राथमिकतामा राखिएको जानकारी दिए । प्रयोगशालाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक योगबहादुर पालका अनुसार बाढी प्रभावित क्षेत्रबाट मृतकका नमुना र आफन्तबाट सङ्कलित नमुना आउने क्रम जारी छ ।

“सङ्कलित नमुनालाई सुरक्षित भण्डारण गरी मानक प्रक्रियाअनुसार डिएनए परीक्षणमा अहोरात्र टोली खटिएको छ,” पालले भने ।

प्रयोगशालामा हालसम्म प्राप्त १,२४० नमुनामध्ये मृतकका आफन्त तथा अन्य स्रोतका ८०८ रगतका नमुना, मृतकका दाँत तथा हड्डीका ३४८ र औँलाछापका ८४ वटा नमुना रहेका छन् । हालसम्म २६ जिल्लाबाट डिएनए प्रोफाइलिङका लागि नमुना प्राप्त भएको छ ।

पछिल्लो तथ्याङ्कअनुसार शव पहिचानका लागि मृतकका १,२८६ र आफन्तका १,४१२ गरी कुल २,६७८ डिएनए नमुना सङ्कलन भइसकेको छ । मृतकका सङ्कलित नमुनामध्ये चितवनबाट ३५४, नवलपरासी पश्चिमबाट २१३, नुवाकोटबाट २०७, नवलपरासी पूर्वबाट १९९, रसुवाबाट १३४, गोरखाबाट ७१, धादिङबाट ७० र तनहुँबाट ३८ वटा छन् ।

यसैगरी, नेपाल प्रहरी अस्पतालमा हालसम्म ९९० मृतकका आफन्तको नमुना सङ्कलन गरिएको छ भने अन्य जिल्लामा पनि नमुना सङ्कलन जारी छ ।

भोटेकोशी बाढीपछि सम्पर्कविहीन तथा हराइरहेका नेपाली र विदेशी नागरिकको पहिचानका लागि डिएनए प्रोफाइलिङलाई दायरा फराकिलो बनाइएको छ । बाढीमा भेटिएका शव वा शरीरका अङ्गको डिएनए र सम्भावित आफन्तको नमुनाबीच तुलना गरी पहिचान यकिन गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले शव पहिचान तथा डिएनए परीक्षण प्रक्रियालाई वैज्ञानिक विधि र मापदण्डअनुसार उच्च प्राथमिकताका साथ सम्पन्न गर्न निर्देशन दिएका छन् । प्रह री प्रधान कार्यालयका प्रहरी उपरीक्षक धर्मराज भण्डारीका अनुसार सङ्कलन र परीक्षण कार्यलाई पूर्णतः व्यवस्थित बनाइएको छ ।