उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • प्रकाशित मिति : २०८३ भाद्र २५, बिहीबार
  • नेपाल टेल संवाददाता

उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।

उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका संचार संयोजक कमल चौलागाईंले जानकारी दिए।



मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।

उनको अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए ।

बुधबार बिहान उद्योग समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले भनेकी थिइन् ‘अहिले भएको ग्यास अभाव उद्योगीले गर्दा भएको हो, ग्यास उद्योगीको ‘पाता नकसे’सम्म ग्यास अभाव सहज हुँदैन ।’

उनी त्यतिमै मात्रै रोकिएकी थिइनन् । उनले हाल सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्नेसम्म बताएकी थिइन् । ‘देशमा यति धेरै ग्यास उद्योग चाहिँदैन, २ वटा मात्रै भए पुग्छ’, उनले भनेकी थिइन् ।

यतिबेला काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको चरम हाहाकार छ । उपभोक्ताहरू एउटा सिलिन्डर ग्यास पाउन दिनरात लाइनमा बस्न बाध्य छन्, भने अर्कोतिर ग्यास पाइहाले पनि २ हजार ६० रुपैयाँ पर्ने ग्यासलाई ३ हजार रुपैयाँसम्म तिर्न बाध्य छन् ।

नेपाल आयल निगम र उद्योग मन्त्रालय आफैंले पालैपालो ग्यास आइरहेको तथ्यांक सार्वजनिक गर्छन् । तर, सरकारले अनलाइनमा सार्वजनिक गर्ने तथ्यांकजस्तो छैन, बजारको अवस्था ।

उपभोक्ता भने घण्टौं लाइन बस्दा पनि ग्यास पाउँदैनन् ।