चिलिमेको सुरुङभित्र फसेकाहरू सकुशल रहेको हुनसक्ने आशा जागेको छ : कुलमान

  • प्रकाशित मिति : २०८३ भाद्र २६, शुक्रबार
  • नेपाल टेल संवाददाता

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चिलिमे जलविद्युत आयोजनाको भूमिगत विद्युतगृहमा फसेका कर्मचारी सकुशल रहेको हुनसक्ने आशा बढेको बताएका छन् । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशकसमेत रहेका घिसिङसँग खोज-उद्धारका लागि प्राविधिक सहयोग मागिएपछि उनी २ दिनअघि रसुवातर्फ गएका थिए ।

आज बिहान साामाजिक सञ्जालमार्फत् घिसिङले सुरुङभित्रबाट आवाजको प्रतिध्वनि (इको) सुनिएको र चिसो हावा समेत आइरहेकाले भित्र फसेका व्यक्तिहरू सकुशल रहेको हुनसक्ने आशा बढेको बताएका छन् ।



विद्युतगृह पुग्न अब करिब १०० मिटर मात्र बाँकी रहेको उनले जानकारी दिएका छन् । घिसिङका अनुसार विद्युतगृह जाने मुख्य पहुँच सुरुङ (Access Tunnel) मा ठूलो परिमाणमा जम्मा भएको लेदो, बालुवा र ढुङ्गा पन्छाउने कााम भइरहेको छ ।

‘सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटर भित्र आवाज पठाउँदा त्यसको प्रतिध्वनि सुनिएको छ र त्यहाँबाट चिसो हावा समेत आइरहेको छ । यसले सुरुङभित्र फसेका व्यक्तिहरू सकुशल रहेको हुनसक्ने हाम्रो आशा र अनुमानलाई बल पुर्‍याएको छ । यो अवस्थामा प्रत्येक मिटरको प्रगति र संकेतले नयाँ आशा जगाएको छ’, कुलमानले लेखेका छन् ।

उद्धारको काम थप छिटो र प्रभावकारी बनाउन स्याफ्रुबेँसीतर्फबाट एस्काभेटरले सुरुङसम्म पुग्ने बाटो खोल्ने काम तीव्र पारेको छ । आजै सुरुङसम्म एस्काभेटर पुग्ने सम्भावना रहेको र त्यसपछि लोडर तथा एस्काभेटरको प्रयोग गरी थुप्रिएको लेदो पन्छाउने कार्यले थप गति लिने उनको विश्वास छ ।

त्यहाँ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाको विज्ञ उद्धार टोली, स्थानीय प्रशासन तथा चिलिमे जलविद्युत कम्पनीका कर्मचारी खटिएका छन् ।