ब्रिक्स राष्ट्रले विश्व व्यापार तथा आपूर्ति श्रृंखलाको निर्बाध सञ्चालनमा संयुक्त सहकार्य गर्ने घोषणा गरेका छन् ।
भारतमा आयोजित सम्मेलनमा ब्रिक्सका शिखर नेताहरूले सर्वसम्मत रूपमा उक्त घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स राष्ट्र विश्व व्यापारको निर्बाध सञ्चालनको पक्षमा एकमत रहेको उल्लेख गरे । इरान-अमेरिका युद्धका कारण आपूर्ति श्रृंखलामा सिर्जना भइरहेको अवरोध र रुस-युक्रेन युद्धका कारण विश्व व्यापारमा परिरहेको प्रभावको पृष्ठभूमिमा ब्रिक्सका शिखर नेताहरूले निर्बाध व्यापारका लागि सहकार्य गर्ने घोषणा गरेका हुन् ।
शनिबारदेखि भारतको नयाँ दिल्लीमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, इरानका राष्ट्रपति मसुद पेजिस्कियन लगायतको सहभागितामा दुई दिने सम्मेलन भइरहेको छ । सी सात वर्षपछि नयाँ दिल्ली पुगेका हुन् ।
सम्मेलनमा सम्बोधन गर्दै उनले पश्चिम एसियाको युद्धले विश्वको हित नगर्ने उल्लेख गरेका छन् । ‘मध्यपूर्व तथा गल्फ राष्ट्रमा युद्धका कारण धेरै मानिसहरूको ज्यान गइरहेको छ । यो युद्ध कसैको पनि हितमा छैन,’ पुटिनको भनाइ उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले भनेको छ ।
ब्रिक्समाथि हाल व्यापार, वित्त, प्रविधि, ऊर्जा सुरक्षा, जलवायु परिवर्तनका प्रभाव, आपूर्ति श्रृंखलामा सिर्जना भइरहेका चुनौतीका विषय सम्बोधन गर्नुपर्ने जिम्मेवारी छ ।