लर्ड्समा नेपाली मूलका दिपेशको कप्तानीमा क्यारिङटनले जित्यो अन्डर–१५ राष्ट्रिय उपाधि

  • प्रकाशित मिति : २०८३ भाद्र २९, सोमबार
  • नेपाल टेल संवाददाता

लन्डन । क्रिकेटको प्रतिष्ठित मैदान लर्ड्समा नेपाली मूलका १५ वर्षीय दिपेश सापकोटाको कप्तानीमा क्यारिङटन क्रिकेट क्लबले ईसीबी भाइटिलिटी अन्डर–१५ क्लब नेशनल कपको उपाधि जितेको छ।

फाइनलमा क्यारिङटनले ६४ रनको सामान्य योगफल बनाए पनि दिपेशको उत्कृष्ट बलिङ र फिल्डिङले टोलीलाई जित दिलायो। उनले ४ ओभरमा २ मेडनसहित मात्र ५ रन खर्चेर २ विकेट लिए भने एक खेलाडीलाई रनआउट पनि गरे। निर्णायक प्रदर्शन गरेका दिपेश ‘म्यान अफ द सिरिज’ घोषित भए।



गुल्मी मूलका दिपेश बेलायतमा हुर्किएका हुन्। उनले नटिङहमशायर काउन्टीको युवा संरचनाबाट क्रिकेट विकास गर्दै आएका छन्। १४ वर्षकै उमेरमा नटिङहमशायर एकेडेमीमा छनोट भएका उनले भारतको वानखेडे स्टेडियममा समेत खेल्ने अवसर पाइसकेका छन्।

दिपेशको सफलताले नेपाली मूलको दोस्रो पुस्ता फुटबल, क्रिकेटलगायत खेलकुद तथा शिक्षा, व्यवसाय, प्रविधि र अन्य क्षेत्रमा विश्वस्तरमा अघि बढिरहेको सन्देश दिएको छ। यस्ता अन्तर्राष्ट्रिय उपलब्धिले नेपाली युवाको प्रतिभालाई विश्वसामु चिनाउनुका साथै नेपालको सकारात्मक पहिचान र देशको विश्वव्यापी प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ।

ऐतिहासिक लर्ड्स मैदानमा दिपेशलाई हौसला दिन १६० भन्दा बढी बेलायतवासी नेपाली तथा एनआरएनहरू उपस्थित थिए। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी लगायत उपस्थित एनआरएनहरूले दिपेश र सापकोटा परिवारलाई बधाई तथा शुभकामना दिएका थिए।