ल्हेन्देमा आएको ‘हिम सुनामी’ पछिको पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब रूपैयाँ आवश्यक

  • प्रकाशित मिति : २०८३ भाद्र २९, सोमबार
  • नेपाल टेल संवाददाता

गत भदौ १० गते ल्हेन्दे खोलाको जलाधार क्षेत्रमा गएको हिउँपहिरोको र त्यसपछिको भीषण बाढीका कारण भोटेकोशी तथा त्रिशुली नदी किनारका वस्तीमा अकल्पनीय क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा तयार पारिएको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदन अनुसार यस विपद्बाट कुल भौतिक क्षति र आर्थिक नोक्सानी गरी ४ खर्ब ८ अर्ब २८ करोड ९१ लाख रूपैयाँ (४.०८ खर्ब रूपैयाँ) बराबरको असर पुगेको छ।

यसैगरी, प्रभावित क्षेत्रका संरचनाहरूको पुनर्निर्माण तथा पुनरुत्थानका लागि कुल ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रूपैयाँ आवश्यकता रहेको प्रतिवेदनमा औंल्याइएको छ।



बाढी र पहिरोका कारण निजी आवास क्षेत्रमा ठूलो क्षति पुगेको छ। प्रतिवेदन अनुसार १५ वटा स्थानीय तहका विभिन्न वडामा करिब ७,५७० वटा निजी भवनहरू प्रभावित भएका छन्, जसबाट ८,३१७ घरपरिवार र ३२,९६३ जना मानिसहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका छन्। निजी भवनहरूको संरचना र घरायसी सम्पत्तिसहित कुल क्षति ६३ अर्ब ८८ करोड ४८ लाख रूपैयाँ पुगेको छ। जसमा भवन संरचनाको क्षति ३८ अर्ब ९३ करोड ३८ लाख रूपैयाँ र घरायसी सम्पत्तिको क्षति २४ अर्ब ९५ करोड १० लाख रूपैयाँ रहेको छ।

क्षतिग्रस्त निजी घरहरूको पुनर्निर्माण तथा राहतका लागि जम्मा ९५ अर्ब ८२ करोड ७२ लाख रूपैयाँ (०.९६ खर्ब रूपैयाँ) खर्च लाग्ने अनुमान गरिएको छ।

शिक्षा क्षेत्रतर्फ विद्यालयका भौतिक संरचनाहरूमा नराम्रो प्रभाव परेको छ। रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानीय तहहरूमा १८ वटा विद्यालयहरू पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। यी विद्यालयहरू अन्तर्गत ५६ वटा भवनहरू र ३०८ वटा कोठाहरूमा क्षति पुगेको छ, जसमा १५६ वटा कोठाहरू पूर्ण रूपमा ध्वस्त भएका छन् भने १५२ वटा कोठाहरूमा आंशिक क्षति पुगेको छ। शैक्षिक सामग्री, फर्निचर र भवन संरचनासहित यस क्षेत्रमा कुल ९३ करोड ७३ लाख रूपैयाँको क्षति भएको छ। विद्यालयहरूको पुनर्निर्माण, अस्थायी सिकाइ केन्द्रको स्थापना तथा शैक्षिक सामग्रीहरूको व्यवस्थापनका लागि कुल २ अर्ब ३४ करोड ३२ लाख रूपैयाँ पुनर्निर्माण खर्च लाग्नेछ।

ऊर्जा तथा जलविद्युत क्षेत्र यस बाढीबाट सबैभन्दा बढी आर्थिक क्षति व्यहोर्ने क्षेत्र बनेको छ। प्रतिवेदन अनुसार १३ वटा जलविद्युत आयोजनाहरूमा क्षति पुगेको छ, जसको कुल जडित क्षमता ७५९.०२ मेगावाट रहेको छ। यसमा विपद्अघि सञ्चालनमा रहेका ७ वटा आयोजना (२५०.४ मेगावाट) र निर्माणधीन अवस्थामा रहेका ६ वटा आयोजना (५०८.६ मेगावाट) प्रभावित भएका छन्। जलविद्युत र ग्रिड प्रणालीको कुल क्षति र नोक्सानी १ खर्ब ५१ अर्ब ४ करोड ४५ लाख रूपैयाँ पुगेको छ, जसमध्ये एक्लै जलविद्युत संरचनाको क्षति १ खर्ब १९ अर्ब ९५ करोड ५६ लाख रूपैयाँ रहेको छ। यस ऊर्जा क्षेत्रको पुनर्निर्माण तथा पुनरुत्थानका लागि ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख रूपैयाँको आवश्यकता औंल्याइएको छ।

सडक सञ्जालमा बाढीले व्यापक अवरोध र क्षति पुर्‍याएको छ। गल्छी-त्रिशुली-रसुवागढी करिडोर अन्तर्गत कुल ६९ किलोमिटर सडक क्षेत्र क्षतिग्रस्त भएको छ, जसमा १४ किलोमिटर आंशिक र ५५ किलोमिटर पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। सडक क्षेत्रमा भएको कुल भौतिक क्षति र आर्थिक नोक्सानी २३ अर्ब ४२ करोड २५ लाख रूपैयाँ रहेको छ, जसमध्ये विशेष गरी बेत्रावतीदेखि रसुवागढीसम्मको ५५ किलोमिटर खण्डमा सबैभन्दा धेरै क्षति पुगेको छ। यस करिडोरको सडक मर्मत, ट्र्याक खुलाउने कार्य, आपतकालीन तटबन्ध तथा स्थायी पुनर्निर्माणका लागि ५५ अर्ब १८ करोड १३ लाख रूपैयाँ लाग्नेछ।

पुल तथा पारवहन संरचनाहरूको क्षतिले स्थानीय आवतजावत र यातायात सम्पर्कमा गम्भीर असर पारेको छ। बाढीका कारण ३७ वटा मोटरेबल पुलहरू क्षति पुगेको छ। जसमा ३३ वटा बगेका छन् भने ४ वटा आंशिक क्षति भएका छन्। यस्तै ६८ वटा झोलुङ्गे पुलहरू क्षतिग्रस्त भएका छन्। मोटरेबल र झोलुङ्गे पुलहरू गरी कुल ११ अर्ब ३५ करोड ११ लाख रूपैयाँ बराबरको भौतिक क्षति भएको छ। जसमा मोटरेबल पुलहरूको क्षति मात्र ९ अर्ब ४१ करोड ४४ लाख रूपैयाँ छ।

यी पुलहरूको अस्थायी डाइभर्सन, बेलिब्रिज जडान तथा स्थायी पुनर्निर्माणका लागि जम्मा १८ अर्ब १६ करोड १७ लाख रूपैयाँको आवश्यकता रहेको प्रतिवेदनमा स्पष्ट पारिएको छ।