नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्ब

  • प्रकाशित मिति : २०८३ आश्विन ४, आईतवार
  • नेपाल टेल संवाददाता

नेपालले भदौ महिनामात्रै बिजुली बेचेर पाँच अर्बभन्दा बढी आम्दानी गरेको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार भदौ महिनामा ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् निर्यात गरेर ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २ सय ८२ रुपैयाँ आम्दानी गरेको हो ।

प्राधिकरणको प्रणाली संचालन विभाग (भार प्रेषण केन्द्र – एलडिसी) स्युचाटारले सार्वजनिक गरेको भदौ महिनामा भएको विद्युत् निर्यातको विवरणअनुसार द्विपक्षीय सम्झौतामार्फत भारतको हरियाणा तथा बिहार राज्यसँगै बंगलादेशमा र विद्युत् बजारमार्फत गरी दुई माध्यमबाट विद्युत् निर्यात गरेको हो ।



द्विपक्षीय सम्झौताअनुसार ४२ करोड १६ लाख २१ हजार २८८ युनिट निर्यात गरेर ३ अर्ब ६४ करोड २५ लाख २८ हजार २ सय ९९ रुपैयाँ आम्दानी गरेको छ भने विद्युत् बजारतर्फ १४ करोड ३९ लाख ८५ हजार १५५ युनिट निर्यात गरेर १ अर्ब ४४ करोड ९९ लाख ३२ हजार ९ सय ८३ रुपैयाँ आम्दानी गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणकाअनुसार भोटेकोशीमा आएको बाढीका कारण चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रको संरचनामा क्षति पुगेपछि हाल बंगलादेशतर्फको विद्युत् निर्यात बन्द रहेको छ । अन्य जलविद्युत् केन्द्रबाट बंगलादेशतर्फ विद्युत् निर्यात सुचारु गर्न आवश्यक स्वीकृतिका लागि भारतीय पक्षलाई अनुरोधसमेत गरिसकिएको प्राधिकरणले जनाएको छ ।

विद्युत व्यापारमा सुधार

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठकाअनुसार अघिल्लो वर्षको तुलनामा भदौ महिनामा विद्युत व्यापार सुधार भएको छ । यसलाई मन्त्री श्रेष्ठले महत्वपूर्ण उपलब्धि भनेका छन् ।

‘भोटेकोशी बाढीले राष्ट्रिय उत्पादन क्षमताको करिब १० प्रतिशत प्रणालीबाट बाहिरिएको चुनौतीपूर्ण अवस्थामा समेत भदौ महिनामा नेपालले ५६ करोड ५६ लाख युनिटभन्दा बढी विद्युत् निर्यात गरी रु. ५ अर्ब ९ करोड २४ लाखभन्दा बढी आम्दानी गरेको छ,’ उनले भने, ‘तुलनात्मक रुपमा हेर्दा चुनौतीपूर्ण अवस्थामा पनि विद्युत व्यापार गत वर्षभन्दा सुधारिएको छ । गत आर्थिक वर्षको भदौ महिनाको विद्युत् निर्यात आम्दानी रु. ४ अर्ब ७० करोड ८२ लाख ८८ हजार ५६५ थियो । अर्थात् यस वर्षको भदौमा निर्यात आम्दानीमा रु. ३८ करोड २७ लाख ३५ हजार ४३५ भन्दा बढी वृद्धि भएको छ ।’

यो उपलब्धि एलडिसी, स्युचाटारको निरन्तर प्रणाली समन्वय, विद्युत प्राधिकरणको उच्च व्यवस्थापन तथा देशभर परिचालित इन्जिनियर, प्राविधिक र कर्मचारीहरूको अथक प्रयासको परिणाम भएको मन्त्री श्रेष्ठले उल्लेख गरेका छन् ।