साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्दै शनिबारदेखि ६ वटा रुटमा २८ वटा विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । संविधान दिवसको अवसर पारेर साझा यातायातले हाल सञ्चालनमा रहेको रात्रिकालीन सेवालाई चार गुणाले विस्तार गरेको हो ।
साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भूपेन्द्र अर्यालका अनुसार गत १ वैशाखदेखि दुईवटा रुटमा सात वटा बसमार्फत रात्रिकालीन सेवा सुरु गरिएको थियो । हाल नागढुंगा–एयरपोर्ट र लगनखेल–बूढानीलकण्ठ रुटमा सञ्चालन हुँदै आएको सेवा अब थप रुटमा विस्तार गरिएको हो ।
शनिबारदेखि बूढानीलकण्ठ–गोदावरी रुटमा ६ वटा, जगाती–रत्नपार्क–ठमेल रुटमा ६ वटा, विमानस्थल–नागढुंगा रुटमा ४ वटा, कीर्तिपुर–जमल रुटमा ४ वटा तथा चक्रपथ परिक्रमाका लागि दुवैतर्फ गरी ८ वटा विद्युतीय बस सञ्चालन हुनेछन् । यससँगै यसअघि सञ्चालनमा रहेका नागढुंगा–एयरपोर्ट र लगनखेल–बूढानीलकण्ठ रुटमा क्रमशः चार र तीन वटा बस चल्ने जनाइएको छ ।
कम्पनीका अनुसार रात्रिकालीन बसहरू सम्बन्धित प्रस्थानबिन्दुबाट बेलुका ८ बजेदेखि राति ११ बजेसम्म छुट्नेछन् । यात्रुको चाप र आवश्यकताका आधारमा बसको संख्या तथा सेवा समयसमेत समायोजन गरिने जनाइएको छ ।
रिङरोड परिक्रमाको रुटमा दुवैतर्फ गरी आठ वटा बस सञ्चालन हुने भएकाले उपत्यकाका विभिन्न क्षेत्रलाई रात्रिकालीन सार्वजनिक यातायातसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यस्तै भक्तपुर–ठमेल, बूढानीलकण्ठ–गोदावरी, विमानस्थल–नागढुंगा, ठमेल–ट्रेकल तथा कीर्तिपुर–जमललगायत रुटमा पनि यात्रुको आवश्यकताअनुसार सेवा सञ्चालन गरिनेछ ।
साझा यातायातले पछिल्लो समय काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको माग बढ्दै गएको र रातिको समयमा सार्वजनिक सवारीसाधनको उपलब्धता तुलनात्मक रूपमा कम रहेको अवस्थालाई ध्यानमा राखेर रात्रिकालीन सेवा विस्तार गरिएको जनाएको छ ।
नयाँ सेवाबाट कार्यालय, व्यवसाय तथा अन्य कामका लागि अबेरसम्म आवतजावत गर्ने यात्रु, विद्यार्थी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा रात्रिकालीन सेवामा कार्यरत नागरिकलाई सहज हुने अपेक्षा गरिएको छ ।
विद्युतीय बस सञ्चालन भएकाले वातावरणीय प्रदूषण न्यूनीकरणमा समेत योगदान पुग्ने कम्पनीको विश्वास छ ।