काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् ।
कोरोना महामारीका बीच पूर्वराजा शाहले एक सन्देश जारी गर्दै जनताको सुरक्षा, स्वास्थ्य र जिविकाका विषयमा अलमल देखिएको, असन्तोष र आक्रोश उठिरहको बताएका छन्।
बुधबार साँझ जारी गरेको सन्देशमा पूर्वराजा शाहले थुप्रै प्रश्न उठाएका छन् ।

पूर्वराजा शाहले भनेका छन्, ‘हाम्रो देशभक्ति, स्वाधीन स्थिति एवं स्वाभिमानमाथि बारबारकिन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हुन्छ? जनताको सुरक्षा, स्वास्थ्य र जिविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहन्छ? रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्या, राष्ट्रहित विरुद्धका सन्धि संझौता तथा हत्या, हिंसा र आत्महत्या जस्ता जल्दा बल्दा र दुखद विषय सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छ?’
अहिलेको अवस्थाबारे चिन्ता व्यक्त गर्दै शाहले होनहार युवाहरु, तमाम देशभक्त स्वतन्त्र नागरिकहरु सडक संघर्षमा किन उत्रिरहनु पर्ने अवस्था सिर्जना भइरहन्छ? भन्दै प्रश्न समेत गरेका छन्।
पूर्वराजा शाहले कोरोनाबाट मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमितको स्वास्थ्य लाभको कामना गरेका छन्।
अहहिले चुनौतीसँग अवसर पनि आएको भन्दै उनले विभिन्न कारणले स्वदेश फर्किएकाहरुलाई देशभित्र इलम, उद्यम र काम धन्दाको व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन्।