काठमाडौँ । बिहीबार (आज) देखि चार दिनसम्म यो वर्षकै धेरै पानी पर्ने अनुमान गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजदेखि चार दिन चार वटा प्रदेशमा यो वर्षकै धेरै पानी पर्ने सम्भावना रहेको छ।

प्राधिकरणले असार २५ देखि २८ गतेसम्म प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गरिएको जनाएको छ।
वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परेको भन्दै प्राधिकरणले ‘भारी वर्षाले बाढी, डुवान र पहिरोको जोखिम बढाइदिएको उल्लेख गरेको छ।
प्रधाकिरणले पहाडी क्षेत्रमा साना खोलानाला, खहरे, नदी र तालमा बाढी आउने तथा कतिपय ठाउँमा पहिरो पनि जानसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।
शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, बाग्मती, नारायणी र यसका सहायक नदीमा पानीको सतह बढ्नसक्छ।
‘खासगरी प्रदेश १ र २ का चुरे तथा तराई भएर बस्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दाहरुलाई सर्तक रहन विशेष आग्रह गर्दर्छौं’ सूचनामा भनिएको छ।
झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायतका जिल्लाका होचा ठाउँमा डुवानको खतरा पनि छ।