यो वर्ष ‘ए’ डिभिजन लिग नहुने

  • प्रकाशित मिति : २०७७ आश्विन ३, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । यो वर्षको ए डिभिजन लिग फुटबल प्रतियोगिता नहुने भएको छ । कोरोना भाइरसको महामारीका कारण सम्पूर्ण खेलकुद गतिविधि ठप्प बन्दा यस वर्षको शीर्ष डिभिजनको लिग फुटबल नहुने देखिएको हो ।

कोरोना महामारीका कारण गत वर्षको लिगको सिजनसमेत पूरा हुन पाएको छैन । अघिल्लो वर्षकै सिजन पूरा नभएको अवस्थामा अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस वर्षको शीर्ष डिभिजनको लिग नगर्ने निष्कर्ष निकालेको हो ।



सरकारले प्रशिक्षणकै अनुमति नदिएको र गत वर्षकै सिजन पूरा नभएका कारण आवश्यक तयारीको समयसमेत नपुग्ने भएकाले यस वर्षको लिग सम्भव नहुने एन्फा स्रोतले जनाएको छ ।

असोज महिना सुरु भैसक्दा समेत गत वर्षको बाँकी सिजन र नयाँ सिजन सुरु गर्ने विषयमा अन्यौलता कायमै छ । सोही कारण एन्फाले यस वर्षको शीर्ष डिभिजनको लिग गर्न नसकिने निष्कर्ष निकालेको हो ।