काठमाडौं। विगतका वर्षहरुमा जस्तो यस पटकको तिहारमा झिलिमिली बत्तीको आयात कम हुने देखिएको छ । तिहार आउन झण्डै दुई साता बाँकी हुँदा झिलिमिलि बत्तीको आयातमा व्यवसायीहरु उदासिन देखिएका छन् । तिहार भन्ने बित्तिकै झिलिमिलीको चाड भन्ने बुझिन्छ । माटाका पाला, विद्युतीय बत्ती, पटाका आदि तिहारका विशेषता हुन् । तिहारमा नेपालीहरुले सबैभन्दा बढी विद्युतीय बत्ती प्रयोग गर्छन् । तर, यस पटक कोरोना कहरले गर्दा व्यापार धेरै नहुने भएकाले व्यवसायीहरु नयाँ विद्युतीय झिलिमिली बत्ति आयात धेरै नगर्ने मनस्थितिमा पुगेका हुन् ।
यसवर्षका लागि हालसम्म झण्डै २० करोड रुपैयाँ बराबरको मात्र तिहार लक्षित विद्युतीय बत्ती आयात भएको नेपाल विद्युतीय व्यवसायी महासंघको अनुमान छ । महासंघमा आवद्ध नभएका व्यवसायीहरुले पनि थोरै आयात गरेको बुझिएको छ । विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुर्दशन प्रसाद पौड्यालले गत वर्षको भन्दा यसवर्ष ४० प्रतिशत कम विद्युतीय बत्ती आयात भएको बताए ।
यस वर्षको तिहार लक्षित बत्ती करिब २० करोड रुपैयाँ जतिको आयात भएको पौड्यालले बताए । गत वर्ष झण्डै ४० करोड रुपैयाँको विद्युतीय बत्ती आयात भएको थियो । महासंघका अनुसार आयात गर्नुपर्ने बत्ती लगभग आयात भइसकेको छ । केही आउनेक्रममै बाटोमा रहेको छ ।
यता महासंघका बरिष्ठ उपाध्यक्ष समेत रहेका व्यवसायी रेशम प्रसाद देवकोटाले कतिपय गत वर्षकै स्टक बत्ती पनि यस पटकको तिहारमा बिक्री गरिने बताए । उनका अनुसार विद्युतीय बत्तीको व्यापार यसपटक खुम्चिएकाले व्यवसायीहरुको दोधारमा रहेका छन् । सामान बिक्री हुने÷ नहुने अनिश्चितता बढेपछि व्यवसायीहरुले थप बत्ती आयात गर्ने अवस्थामा नरहेको उनले बताए । ‘यो भन्दैमा आयात शून्य मै भने झरेको छैन । गत वर्षको भन्दा निकै कम मात्र आयात भएको छ’, उनले बताए ।
एकातर्फ केरुङ नाकामा महिनौँ दिनदेखि सामान अड्किएर बसेको छ भने अर्कोतर्फ व्यवसायीसँग नयाँ सामान खरिद गर्ने रकम नभएपछि तिहारमा बत्ती कम आयात भएको व्यवासायीहरु बताउँछन् । पहिला पहिला माटाका पाला, मैनबत्ती, केराको सुप्लामा बालिने कपासको बत्तीले गाउँसहर झिलिमिली बन्थ्यो । तर, यी सामाग्रीमा भन्दा रङ्गीचङ्गी विद्युतीय बत्तीमा आकर्षण रहेको र लोडसेडिङको समस्या पनि हटेपछि विद्युतीय बत्तीमा मानिसहरु आकर्षित भएको देखिन्छ ।
तिहारमा मात्र होइन अन्य समयमा पनि होटल, रिसोर्ट, शहर बजारका व्यापारिक केन्द्र रङ्गीचङ्गी विद्युतीय बत्तीमा सजिन्छन् । बढ्दो देखासिकीले पनि शहर बजारतिर तिहारमा विद्युतीय झिलिमिली बत्ती नबलेका घरहरु कमै हुन्छन् ।
विद्युतीय बत्तिको मूल्य नबढ्ने
तिहार लक्षित विद्युतीय बत्तीको मूल्य यस पटक नबढ्ने भएको छ । महासंघका अनुसार गत साल नै बत्तीको मूल्य कायम गरिएको थियो र साेही मूल्य यसवर्ष पनि कायम गरिएको छ । गत वर्ष दियो २० वटाको मूल्य बढीमा २०० रुपैयाँसम्म कायम थियो ।
स्ट्रिप लाइट, पाइप लाइट, नेट झालर, दियो, लक्ष्मी गणेशको बल्ने मूर्ति, फोटो लगायतको माग तिहारमा अत्यधिक हुने गर्छ । लक्ष्मी, गणेश लगायत देवताको बल्ने सानो फोटोको मूल्य ३ सय र ठूलो साइजको ११ सय रुपैयाँसम्म छ । । विद्युतीय बत्तीको माग यसै समयमा हुने भएकाले केही व्यवसायीहरुले चर्को मूल्य समेत लिएर बेच्ने गरेको गुनासाे आउने गरेका छन् । यसतर्फ भने सरकारको अनुगमन प्रभावकारी हुनुपर्ने देखिन्छ ।