ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत सुपर सिक्स चरणमा प्रवेश गरेको नेपालले आफ्नो पहिलो खेल आइतबार खेल्ने भएको छ ।
नेपालले समूह चरणमा अपराजित रहँदै समूह ‘बी’ को विजेता बनेको हो भने समूह ‘ए’ विजेता यूएईसँग सुपर सिक्सको पहिलो भिडन्त तय भएको छ ।
तालिकाअनुसार नेपाल र यूएईबीचको खेल आइतबार अपरान्ह सवा ४ बजेदेखि सुरु हुनेछ ।
यो खेल नेपालका लागि महत्वपूर्ण हुनेछ, किनभने सुपर सिक्सको नतिजाले नै अन्तिम दुई टोलीको विश्वकप यात्राको सम्भावना निर्धारण गर्नेछ ।
नेपालले सुपर सिक्समा चार खेल खेल्नेछ । पहिलो खेलमा यूएईसँग भिडेपछि नेपालले दोस्रो खेल १३ अक्टोबरमा कतारविरुद्ध खेल्ने तालिका छ ।
त्यसपछि नेपालले १५ र १७ अक्टोबरमा हुने बाँकी दुई खेलमा अन्य समूहका टोलीसँग प्रतिस्पर्धा गर्नेछ, जसको टुंगो भने अहिलेसम्म लाग्न बाँकी छ ।
समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले सुपर सिक्समा पनि विजयी यात्रा जारी राख्ने लक्ष्य राखेको छ ।