आज महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइँदै

  • प्रकाशित मिति : २०७७ कार्तिक २५, मंगलवार
  • nepaltale.com

काठमाडौं। महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती आज मनाइँदैछ ।

किराँत धर्मावलम्बीका गुरुसमेत मानिने राष्ट्रिय विभूति फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै पूर्वी पहाडी जिल्लाहरु पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापा लगायतका ठाउँमा विभिन्न कार्यक्रम गरी हरेक वर्ष कात्तिक आजकै दिन जन्मजयन्ती मनाउने गरिन्छ ।

सामाजिक जनजागरणका अभियन्ता फाल्गुनन्दलाई समाज सुधार र व्यवहारिक आर्थिक नीति नियम बनाउने कुशल अर्थविद्का रूपमा समेत लिने गरिन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्द जयन्तीका अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण किराँत धर्मावलम्बी समूदायमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छिन ।

किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिँदै राष्ट्रपति भण्डारीले महागुरु फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास समेत व्यक्त गरिन ।