काठमाडौं । अर्थ मन्त्रालयले विमा कम्पनीहरुलाई कोरोना विमा भुक्तानीको लागि दावी पुगेका व्यक्तिलाई तीन दिनभित्र रकम उपलब्ध गराउन निर्देशन दिएको छ।
साथै यसबारे मन्त्रालयलाई नियमित जानकारी गराउन पनि अर्थ मन्त्रालयले निर्देशन दिएको छ।

गत कात्तिक १८ गतेको निर्णयअनुसार एक सातामै भुक्तानी दिइसक्नुपर्ने भए पनि हालसम्म न्यून संख्यामा भुक्तानी भएको गुनासो आएपछि मन्त्रालयले यस्तो ताकेता गरेको हो।
अर्थले बिमा समितिलाई दिएको निर्देशनमा भनिएको छ ‘कोरोना बीमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, प्रमाणीकरणका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, प्रमाणीकरण नभएका वा नक्कली दाबी विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी विवरण सार्वजनिक समेत गर्नुहुन अनुरोध छ।’
अन्य निर्णय पनि समितिले पालना नगरेपछि अर्थले कागजात पूरा गरेकालाई भुक्तानी दिन र भेरिफिकेसन प्रक्रिया सकेसम्म चाँडो सम्पन्न गर्न आदेश दिएको छ।