विप्लव विरुद्ध ‘जस्तालाई त्यस्तै’को रणनीतिमा प्रहरी, आवश्यक परे गोली चलाउने

  • प्रकाशित मिति : २०७७ मंसिर २५, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । एकीकृत जनक्रान्तिका नाममा ‘भूमिगत’ गतिविधि थालेको नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले २ वर्ष अगाडि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाउने निर्णय गर्‍यो ।

प्रतिबन्ध अगाडि ‘मूलधारको राजनीति’मा समावेश गराउने गरी सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ताका लागि ‘प्रयास’ पनि गरेको थियो ।



सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा गठित राजनीतिक वार्ता समितिले विप्लव नेतृत्वको नेकपासँग वार्ताका लागि प्रयास गरेको थियो । तर, विप्लव नेतृत्वको नेकपाले वार्तालाई खासै महत्व दिएन । फलस्वरुप सरकारले उसका सबै गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय ग¥यो ।

चन्दा असुली, विकास निर्माणका गतिविधिमा अवरोध लगायत ‘अपराधिक गतिविधि’ गरेको भन्दै प्रतिबन्ध लगाएपछि सुरक्षा संगठनहरुले पनि विप्लव समूहमाथि निगरानी बढाउन थाले ।

सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेपछि विप्लव समूहविरुद्ध नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रुपमा ‘सर्च एण्ड अरेस्ट’ अपरेशन चलाए । प्रतिबन्ध लगाएपछि देशभरका विभिन्न ठाउँबाट विप्लव समूहका नेता–कार्यकर्ता पक्राउ पर्न थाले ।

प्रतिबन्ध अगाडि नै विप्लव समूहले राजधानी काठमाडौं लगायत क्षेत्रमा ‘बम आतंक’ सिर्जना गरिसकेको थियो । ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा बम विस्फोट गराउँदा बाटोमा हिँडिरहेका व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिबन्धपछि पनि विप्लव समूहका ‘हिंसात्मक गतिविधि’ रोकिएका थिएनन् । तर, पछिल्लो समय भने विप्लव समूह व्यक्ति हत्यामा सक्रिय हुन थालेको छ ।

आफूहरुविरुद्ध सुराकी गरेको आरोपमा विप्लव समूहका कार्यकर्ताले मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खे घर भएका राजेन्द्र श्रेष्ठको हत्या गरिदिएका छन् ।

स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेका श्रेष्ठको विप्लवका कार्यकर्ताले मंगलबार बिहानै घरबाट अपहरण गरी लगेर नजिकै बर्खे जंगलमा घाँटी रेटेर हत्या गरेका हुन् ।

विप्लव समूहका ‘मेची–कोशी’ ब्यूरोका ईञ्चार्ज ‘प्रताप’ले विज्ञप्ति जारी गर्दै शिक्षक श्रेष्ठ हत्याको जिम्मेवारी लिएका छन् । हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा श्रेष्ठको मृत्यु भएको विप्लव समूहको दाबी छ ।

हात बाँधी घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेकाले श्रेष्ठले हतियार लिएर आक्रमण गरेको भनेर पत्याउन सकिने अवस्था छैन । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पनि श्रेष्ठलाई नियन्त्रणमा लिई हात बाँधेर घाँटी रेटी हत्या गरेको देखिएको छ ।

सरकारले शिक्षकको हत्यालाई विशुद्ध ‘आपराधिक गतिविधि’को रुपमा लिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव चक्रबहादुर बुढा मोरङको घटनामा संलग्नलाई कानूनी दायरमा ल्याइने बताउँछन् ।

‘मोरङ घटना (शिक्षकको हत्या) विशुद्ध आपराधिक घटना हो । यसमा संलग्नलाई कानूनी दायरमा ल्याइन्छ,’ गृह मन्त्रालयका प्रवक्ता बुढा भन्छन् ।

त्यसो त बुधबार गृह मन्त्री रामबहादुर थापा (बादल)ले सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर मोरङ घटनामा संलग्नहरुलाई चाँडो कानूनी दायरमा ल्याउन निर्देशन दिइसकेका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएर गृहमन्त्री थापाले मोरङ घटनाको सत्यतथ्य छानबिन गरी संलग्नहरुलाई छिटोभन्दा छिटो कानूनी दायरमा ल्याउन भनेका हुन् ।

गृह मन्त्रीको निर्देशनपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले संयुक्त रुपमा अनुसन्धान पनि अगाडि बढाइसकेका छन् ।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीका अनुसार घटनाको अनुसन्धानका लागि काठमाडौंबाट समेत छुट्टै टोली परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र १ नम्बर प्रदेश प्रहरी कार्यालयले पनि घटनाको विषयमा अनुसन्धान गरिरहेका छन् ।

अब प्रहरी गोली चलाउँछ !

सरकारले प्रतिबन्धको घोषणा गरेपछि प्रहरीले विप्लव समूहविरुद्धको अपरेशनमा तीव्रता दिएको थियो । यसक्रममा केही ठाउँमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच ‘मुठभेड’ पनि भयो ।

प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच सर्लाही र भोजपुरमा ‘दोहोरो भिडन्त’ भएको थियो । सर्लाहीको भिडन्तमा विप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको थियो । यस्तै, भोजपुरमा प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका कार्यकर्ता निरकुमार राईको मृत्यु भयो ।

तर, सर्लाहीको घटनामा प्रहरीको भूमिका विवादित बनेपछि विप्लव समूहविरुद्ध प्रहरीले ‘आक्रमण’लाई भन्दा अरेस्ट (गिरफ्तार)लाई प्राथमिकतामा राख्न थाल्यो ।

तर, अब भने ‘टीट फर ट्याट’ जस्तालाई त्यस्तैको मान्यतामा प्रहरी अगाडि बढ्ने प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरको भनाइ छ । प्रहरी प्रवक्ता कुँवरले ‘संकेत गरेअनुसार’ विप्लव समूहका गतिविधि नियन्त्रण गर्न प्रहरीले आवश्यक परेको खण्डमा गोली समेत चलाउन सक्छ ।

‘सरकारले गरेको निर्णयानुसार प्रतिबन्धित समूहका गतिविधिविरुद्ध प्रहरीले कानूनअनुसार कारबाही अगाडि बढाउँदै आएको छ,’ एसएसपी कुँवर भन्छन्, ‘उनीहरुले आपराधिक गतिविधि बढाउँदै गएपछि त्यसविरुद्ध प्रहरी आफूलाई प्राप्त सम्पूर्ण अधिकारको प्रयोग गरेर अगाडि बढ्छ ।’

कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढेपछि विप्लव समूहले आफ्ना गतिविधि कम गर्दै लगेको सुरक्षा निकायको विश्लेषण थियो । तर, भित्रि रुपमा उसले आफ्ना गतिविधि थप ‘सशक्त’ बनाएको देखिएपछि प्रहरीले पनि आफ्नो रणनीति परिवर्तन गरेको छ ।

प्रहरीले अब विप्लव समूहविरुद्ध गाउँ केन्द्रित अभियान सञ्चालन गर्ने प्रवक्ता (एसएसपी) कुँवर बताउँछन् ।

‘अब तत्कालै गाउँगाउँमा गस्तीसहितका गतिविधि बढाइन्छ,’ प्रहरी प्रवक्ता एसएसपी कुँवर भन्छन् ।

एसएसपी कुँवर नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको समन्वयमा विप्लव समूहविरुद्ध ‘कम्बाइन्ड अपरेशन’ पनि सञ्चालन गरिने बताउँछन् ।