काठमाडौं । नेपाली सेफ सन्तोष साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को उपविजेता बनेका छन् ।
प्रतियोगिताको ग्रयाण्ड फाइनलमा पाल्पाली ढाकाटोपीमा सजिएका सन्तोषले अन्तरर्राष्ट्रिय स्तरको प्लेटफर्ममा नेपाली खानालाई परिचित गराएका छन् ।
बिहीबार बेलुका बीबीसी वानमा प्रसारित ग्रान्ड फिनालेमा उनको मास्टर सेफ च्याम्पियन बन्ने सपना अधुरै रह्यो । उपाधि बेलायती सेफ आलेक्स वेवले जिते ।
तर, ३२ जना व्यावसायिक सेफबीच शुरु भएको उक्त प्रतियोगितामा टप थ्री पर्नुलाई पनि उनले ठूलो उपलब्धि मानेका छन् । विश्वसामु नेपाली खाना चिनाउन र लाखौं नेपालीको मन जित्न सफल भएकाले उपाधिभन्दा त्यो महत्वपूर्ण भएको उनले प्रतिक्रिया दिए ।
‘एकदम कडा प्रतिस्पर्धा थियो । मेरो उपाधिमात्र जित्ने उद्देश्य भएको भए २० वर्ष बढी अनुभव रहेको इन्डियन खाना बनाउँथे होला तर त्यसो गर्न मनले नै दिएन,’ साहले भने, ‘म आफ्नो स्वाभिमान कहिल्यै बेच्दिनँ । भारतीय खाना बनाएर उपाधि जितेको भए म कुन मुखले नेपाल जाने?’
करिब ५ सातादेखि चलेको तीव्र प्रतिस्पर्धामा सन्तोषले नेपाली परिकारमात्र पस्किएर आफ्नो उपस्थिति दरिलो बनाए । उपाधि नजितेपनि उनले सबको मन जिते । उनले हिमाल, पहाड र तराईको खाना र नेपाली भेषभूषा एवं संस्कृति विश्वसामु चिनाए । नेपाली झण्डा फहराए । भादगाउँले र ढाका टोपी पहिरिए ।