राष्ट्रपति भण्डारी र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

  • प्रकाशित मिति : २०७७ पुष ७, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा विघटन पछि उत्पन्न पछिल्लो राजनीतिक अवस्थाका बीच नेपालका लागि चिनियाँ राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेकी छन् ।

राष्ट्रपति भण्डारीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी मंगलबार साँझ करिब साढे ५ बजेतिर राष्ट्रपति भवन शीतल निबास पुगेकी हुन् ।



राष्ट्रपति र चिनियाँ राजदूत भएको कुराकानीको विषय भने बाहिर आएको छैन ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

प्रतिनिधि सभा विघटन पति सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेको छ ।

प्रधानमन्त्री ओलीलाई उनी इतरको बहुमत पक्षले नेकपाको अध्यक्ष पदबाट हटाएको निर्णय गरेको छ भने नेकपाको दोस्रो अध्यक्षमा माधव कुमार नेपाललाई चयन गरिएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा आफू पक्षीय केन्द्रीय सदस्यहरुको भेला (बैठक) बोलाएका थिए ।

ओली समूहको बैठकबाट आगामी वर्ष (२०७८)को मंसिरमा महाधिवेशन गर्ने निर्णय भएको छ भने महाधिवेशनका लागि १ हजार १ सय ९९ सदस्यीय आयोजक कमिटी बनाइएको छ । ओलीले मौजुदा ४ सय ४७ सदस्यीय केन्द्रीय कमिटीमा थप ५ सय ५६ जनालाई नियुक्त गरेर शपथ समेत ग्रहण गराइसकेका छन् भने बाँकी १ सय ९७ जनालाई पछि नियुक्त गर्ने भनिएको छ ।

यता पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा बहुमत रहेको भनिएको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले ओलीलाई कारबाही (अध्यक्षबाट हटाउने) निर्णय गरेको छ ।

यसअघि नेकपाभित्र आन्तरिक विवाद चर्किँदा चिनियाँ राजदूत यान्छीको निकै सक्रियता हुने गरेको थियो । पछिल्लो समय नेकपा विभाजनको तहसम्म पुग्दा भने उनी मौन जस्तै बसेकी थिइन् ।