एमाले र माओवादी सिद्धिएर जन्मिएको नेकपा फुट्यो

  • प्रकाशित मिति : २०७७ पुष ८, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । २०७५ जेठ ३ मा काठमाडौंको सभागृहमा भएकोे कार्यक्रममा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकता घोषणा कार्यक्रममा ओली र प्रचण्डले, ‘अब एमाले र माओवादी सिद्धियो । नेकपा जन्मियो ।’ भनि घोषणा गरेका थिए

सभामा निकै उत्साही भएर बोलेका प्रधानमन्त्री ओलीले भनेका थिए, ‘अब पार्टी महासागर भइसक्यो । हिन्द महासागरमा कोशीको पानी खोजेर पाइन्छ ? हिन्द महासागरमा कोशीको पानी खोई भनेर हुन्छ रु सेतीको पानी खोजेर भेटिन्छ रु बागमती कता छ भनेर हुन्छ ?



अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि त्यो समयमा भावुक मुद्रामा भनेका थिए ‘थुप्रै चुनौती छन् तर हामीसँग थुप्रै अवसरहरू पनि छन् । अब यहाँ न एमाले छ न माओवादी । यो अर्को छुट्टै नयाँ कम्युनिस्ट पार्टी बनिसक्यो ।’

हिंजो मिति २०७७ पुस ७ गते उनै नेताहरु अलग अलग स्थानमा एक अर्कालाइ धार हात लगाउदै थिए ।

प्रधानमन्त्री ओलीले गरेको नयाँ केन्द्रीय कमिटिको औपचारिक घोषणाको तीन घन्टापछि काठमाडौंको बबरमहलस्थित कार्की प्यार्टी प्यालेसमा नेकपाको ४४६ सदस्यीय केन्द्रीय समिति मध्येका ३ सय १५ केन्द्रीय सदस्य उपस्थित भेलाले उनै ओलीलाई कारबाहीको घोषणा गरे ।

ओलीलाई अनुशासनको कारबाही गर्दै वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय पनि गरियो ।

मंगलबारको यी दुई फरक भेलासँगै औपचारिक रुपमा नेकपा फुटेको छ । १७ असोज २०७४ मा एमाले र माओवादीको गठबन्धन, ३ जेठ २०७५ को एकता घोषणा कार्यक्रमको समापन ७ पुस २०७७ मा भयो । तलसम्म एकता सम्पन्न भइ नसक्दै नेकपा बिभाजित भयो ।