काठमाडौं । स्पेनिस ला लिगामा रियल म्याड्रिडले ग्रानडालाई २–० ले पराजित गरेको छ ।
घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा बुधबार राति भएको खेलमा रियलको दुवै गोल दोस्रो हाफमा भएको थियो ।
खेलको ५७औं मिनेटमा मार्को एसेन्सियाको क्रसलाई क्यासमिरोले हेडरमार्फत गोल गर्दै रियललाई अग्रता दिलाए ।
इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा बेन्जेमाले इस्कोको पासमा गोल गर्दै रियलको जित पक्का गरे ।
ला लिगामा रियलको यो लगातार पाँचौ जित हो । जितसँगै रियलले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग अंक बराबरी गरेको छ ।
रियलको १५ खेलबाट ३२ तथा एट्लेटिकोले १३ खेल खेलेको छ । पराजित ग्रानडा २१ अंक जोडेर सातौ स्थानमा रहेको छ ।