अनेक झण्झट र विपद्हरुको खड्गो फालेर नयाँ यात्रामा ७७ साल

  • प्रकाशित मिति : २०७७ बैशाख १, सोमबार
  • नेपाल टेल संवाददाता

२०७६ अनेक झण्झट र विपद्हरुको खड्गो बोकेर आएको थियो । चैतको अन्तिम रातसँगै त्यसले हामीलाई छाडेर गएको छ । हामी २०७७ सालको यात्रामा निस्किसकेका छौं । आशा छ, दुःखका पहाड पन्छाएर, पीरका भारीहरु बोक्दै बिसाउँदै गरेर र त्रासका सम्झनाहरु मनमा टाँसेर भए पनि हामी सकारात्मक सोच राख्छौं, राखिरहने छौं । समस्या र अभावका चांगहरु बीच हामी समाधान र पूर्णता खोज्न अभ्यस्त छौँ । नयाँ बर्ष २०७७ सालले हामीलाई नयाँ सोच, विचार र परिवर्तनको उर्जा दिएको छ ।

नयाँ वर्ष विगतको पात्रो पल्टेर नयाँ पात्रो भित्तामा टाँस्ने निरन्तर अभियान मात्रै होइन, विगतको समीक्षा र त्यसले सिकाएको पाठ मनन् गरेर भविष्यको योजना बनाउने बेला पनि हो । पक्कै पनि २०७६ ले हामीलाई धेरै पाठ सिकाएर गएको छ र त्यसलाई हामीले मनन् गर्नै पर्छ ।



मुलुकमा झन्डै एक दशकदेखि विद्यमान संक्रमणकालिन अवस्था अन्त्य भै नयाँ युगतर्फको प्रस्थानविन्दु आरम्भ भएको छ । संविधान कार्यान्वयनका देष्टिकोणबाट यो बर्ष अत्यन्त महत्वपुर्ण रहेको छ ।

७६ मा केही चर्चित घटनाहरु घटे :

वैशाख
– सोलुखुम्बुमा हवाई दुर्घटना हुँदा २ जनाको मृत्यु भयोे ।
– मेडिकल कलेजले लिएको चर्को शुल्क यस वर्षको शुरुवातदेखि नै चर्चामा रह्यो ।
– ललिता निवासको जग्गा प्रकरणमा सत्तााधारी नेकपा महासचिव विष्णु पौडेलसहित नेताको संलग्नता रहेको खुलासा ।
– नेता उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबीच एकता भई समाजवादी पार्टीको निर्माण ।

जेठ
– पर्वतारोही कामीरीता शेर्पाले २४ औँ पटक सगरमाथा आरोहणको रेकर्ड बनाउन सफल ।
– नेपाली सेना प्रमुख सेनानी केशवराज कार्की भ्रष्टाचार अभियोगमा बर्खास्त ।
– नेकपा माआवादीका नेता नेत्र विक्रम चन्द नेतृत्वको दलले संघीय राजधानी काटमाडौँको तीन स्थानमा श्रृङ्खलाबद्ध बम विष्फोटन गराउँदा सुकेधारामा ३, घट्टेकुलोमा १ जानको मृत्य ।
– विश्व बैंकद्वारा मूलुक साढे १० खर्ब ऋणमा डुबेको तथ्य सार्वजनिक ।
– अन्धविश्वासमा देवी खुसी पार्ने भन्दै साढे २ वर्षका बालकको निर्मम हत्या ।
– सरकारले ल्याएको गुठी विधेयकका विरुद्ध सत्तापक्ष र विपक्षी दुवै सडकमा ।

असार
– नेपालको पहिलो स्याटलाइट अन्तरिक्षमा प्रवेश ।
– चौतर्फी दबाब भएपछि सरकारद्वारा गुठी विधेयक फिर्ता ।
– लगातारको वर्षाका कारण आएको बाढी पहिरोबाट देशभर २२ जनाको मृत्यु, ५ जना वेपत्ता ४ सय ३५ परिवार विस्थापित भए ।
– सीमावर्तीक्षेत्रमा भारतले बनाएको बाँधले नेपाली बस्ती डुबानमा ।

साउन
– नेपालसहित दक्षिण एसियाको मुख्य रोजगारी क्षेत्र मानिएको ६ वटा देशमा श्रमबजार खुम्चिएको दुखद समाचारका साथै चीनले नेपाललाई १५ वटा विमानस्थल प्रयोग गर्न दिएको विषयले उर्जा थप
– पूर्व पश्चिम विद्युतीय रेलमार्गसहित सम्भावित अन्य स्थानको पहिचान ।
– व्यापार घाटा १३ खर्ब २१ अर्ब पुगेको खबर केही चिन्ताजनक ।

भदौ
– लामखुट्टेले सार्ने डेङ्गुले महामारीको रुप लियो । नेपालमा भारतबाट पाइप लाइनबाटै तेल भित्र्याउने सम्झौता सम्पन्न ।
– जेलभित्र रहेका कैदीसँग मिलेर फिरौती संकलनको धन्दामा जोडिएको आरोपमा गृह मन्त्री रामबहादुर थापाका भाइ नरेश थापा पक्राउ ।

असोज
– संसद सचीवालयमा कार्यरत महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा तत्कालीन सभामख कृष्णबहादुर महराले सांसद पदबाट राजीनामा दिनुप¥यो । पछि जेल परेका उनी हाल जेलमुक्त भइसकेका छन् ।
– चीनका राष्ट्रपति सी चीन फिङ्को नेपाल भ्रमण सम्पन्न ।
– १२ वर्ष अघिको बम विस्फोटको घटनामा मुख्य योजनाकार एवम् कांग्रसका तत्कालीन सांसद मोहम्मद आलम पक्राउ र जेल चलान ।

कार्तिक
– शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका ६ वटै प्रदेशका प्रमुखलाई बर्खास्त गरी वर्तमान सरकारले नयाँ प्रदेश प्रमुख नियुक्त
– भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्र समावेश गरेपछी तीव्र विरोध शुरु ।
सुधार देशभर लगडाउन जारी । जनजीवन प्रभावित ।

मंसिर
– प्रधानमन्त्री के.पी शर्मा ओलीले सरकार र अर्का अध्यक्ष पुष्पकमल दाहालले दल चलाउने गरी नेकपामा एकिकरणको १८ महिनापछि स्पष्ट कार्य विभाजन ।
– ११ औँ दक्षिण एसियाली खेलकूद सागको काठमाडौ संस्करण सफलतापूर्वक सम्पन्न । नेपाल ५१ स्वर्ण पदक प्राप्त गर्न सफल ।
– प्रतिनिधिसभा, प्रदेश र स्थानिय तहका ५२ पदका लागि उपनिर्वाचन सम्पन्न । निर्वाचनमा ६५.४३ प्रतिशत मतदाता सहभागी नेकपाको महत्वपूर्ण विजय ।
– यती समूहलाई सरकारी जग्गा सहुलियतपूर्वक रुपमा उपलब्ध गराएको विषयले विवाद उत्पन्न ।
– मंसिरको अन्त्यतिर सिन्धुपाल्चोकमा बस र्दुघटना हुँदा १५ जनाको मृत्यु ।

पुस
 विकास र सहयोग सम्बन्धी अमेरिकी नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका विषयमा नेकपाका नेताहरुमा चर्को विवाद ।
– संविधान संशोधन गर्ने पुरानो सहमतिमा सरकार प्रतिबद्ध नभएको भन्दै समाजवादी पार्टी सत्ताबाट बाहिरियो । यससँगै नेकपा नेतृत्वको सरकारले दुई तिहाई बहुमतको समर्थन गुमायो ।
– १० लाख पर्यटन भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको औपचारिक उद्घाटन ।
– विश्वमा कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएपछि भ्रमण वर्ष अभियान नै स्थगित ।

माघ
– नेकपाका नेता अग्निप्रसाद सापकोटा सभामुखमा निर्वाचित ।
– ललिता निवास जग्गा अनियमिततामा संलग्न भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छेदारसहित १ सय ७५ जना विरुद्ध भ्रष्टचार मुद्दा दायर ।

फागुन
– सेक्यूरिटी प्रिन्टीङ् प्रेस खरिद गरेर ७० करोड कमिसन लिने विवादास्पद अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले पदबाट राजिनामा । हाल यो मन्त्रालय अर्थमन्त्री युवराज खतिवडाको जिम्मामा ।
– कोरोनाको संक्रमण विश्वभर फैलने क्रम बढेसँगै अन्र्तराष्ट्रिय आवगमनमा कडाई ।
– स्वदेशकै अस्पतालमा प्रधानमन्त्रीको मृगौला सफलतापूर्वक प्रत्यारोपण ।

चैत
– कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै मूलुकमा चैत ११ गतेदेखि लकडाउन शुरु
-नेपालमा हाल सम्ममा १३ जनामा संक्रमण पुष्टि, उपचारपछि १ जना पूर्णरुपमा स्वस्थ भई घर फिर्ता
-अन्यको क्रमिक सुधार देशभर लगडाउन जारी ।

त्यस्तै, काठमाडौं प्रेस प्रकरणले नेपालमा संचालित मिडियाहरु कति असुरक्षित छन् भन्ने छर्लङ्ग पारेको छ ।

कोरोनाले मानिस होस् वा राज्य सबैलाई आ-आफ्नो हैसियत सम्झाई दिएको छ । भ्रष्टाचार गरेर र अवैध आम्दानी गरेर छोटो अवधीमै संभ्रान्त कुलीन बनेका नवधनाड्य बर्गका ब्यक्तिहरूको लहलहैमा लागेर ब्रह्मलुट गर्न पाउने रहरले सनकमा गरेका कार्य औचित्यहिन सावित हुदैछन् ।

जीवनमा समस्याहरु आउँछन् । हरेक नयाँ समस्याले समाधानका उपायहरु पनि सिकाएर जान्छन् । जीवन निरन्तर सिकाइको एउटा प्रकृया हो । २०७६ यस्तै नयाँ सिकाइको एउटा वर्ष भएर अब इतिहासमा बिलुप भएको छ । इतिहास नसम्झिने हो भने हामीले आफूलाइ सग्लो उभ्याउन सक्दैनौँ । इतिहास सम्झेर आफूमा सबल, सक्षम, साहसको उर्जा सञ्चार गर्न हामीसित २०७७ का पूरा ३६४ दिन बाँकी छन् ।

संसार समस्या रहित छैन । समस्याको कुनै निश्चित रंग हुँदैन । त्यसैले हामी सित बहुरंगी अनन्त दुःखहरु छन् । विगत वर्षजस्तै २०७७ सालमा इमान सहित निर्भिक भएर आफूलाई संसारमा सग्लो उभ्याउन सकौँ । अनन्त दु:खहरु वीच एक धर्को सप्तरंगी मुस्कान जोगाएर जीवनमा सकरात्मक उर्जा छरिरहौँ । यो वर्ष हामीलाई मुस्काउने उर्जा प्राप्त होस् ।

शुभहोस्, सबैलाई २०७७ को शुभकामना ।