त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो खेल नेदरल्याण्ड्ससंग

  • प्रकाशित मिति : २०७७ चैत्र २६, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा आगामी वैशाखमा हुने त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।

वैशाख ४ देखि ११ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा नेपालले पहिलो खेल नेदरल्याण्ड्ससंग खेल्नेछ ।



उद्घाटन खेलमै नेपाल र नेदरल्याण्ड्स वैशाख ४ गते खेल्नेछ । यस्तै नेपालले दोस्रो खेल मलेसियासँग वैशाख ६ र तेस्रो खेल नेदरल्यान्ड्ससँग वैशाख ७ मा खेल्नेछ । लिग चरणको अन्तिम खेल भने वैशाख ९ गते मलेसियासँग खेल्नेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा लिगपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । फाइनल खेल वैशाख ११ गते हुनेछ ।

सिरिजका लागि क्यानले टिकट मूल्य १ सय ५० रुपैयाँ तोकेको छ । यस्तै क्यानले सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण गरिरहेको छ ।