नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरी भएसँगै नेपाल पुग्यो फाइनलमा

  • प्रकाशित मिति : २०७८ बैशाख ८, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ। त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकिएको छ।

वर्षाले प्रभावित भएको खेलमा नेदरल्यान्ड्सले पहिलो ब्याटिङ गर्दै निर्धारित १३ ओभरमा ४ विकेटको क्षतिमा १०७ रन जोडेको थियो।



त्यसपछि मलेसियाले १० ओभरमा ९२ रनको लक्ष्य पाएको थियो।

मलेसियाले १० ओभरमा ४ विकेटको क्षतिमा ९१ रन जोडेपछि डिएल मेथडको आधारमा स्कोर बराबरी भयो।

मलेसियालाई अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको थियो। जसमा नेदरल्यान्ड्सका भिभियन किग्माले ६ रन मात्र खर्चिए।

स्कोर बराबरी भएसँगै नेपाल र नेदरल्यान्ड्स फाइनलमा पुगेका छन्। समूह चरणका सबै चार खेल खेलको नेदरल्यान्ड्सको ५ अंक भएको छ भने अन्तिम खेलअघि नेपालको ४ अंक छ। मलेसियाले १ अंक मात्र जोडेको छ।

अब उपाधिका लागि नेपाल र नेदरल्यान्ड्सबीच आगामी शनिबार प्रतिस्पर्धा हुनेछ।

त्यसअघि लिग चरणको अन्तिम खेलमा भोलि बिहीबार नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ। फाइनल पुग्ने दुई टिमको टुंगो लागिसकेको अवस्थामा यो खेल प्रतिष्ठाको लडाइँ हुनेछ।

यसअघि नेपालले सुरुवाती दुई खेलमा जित हात पारेको थियो। नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेट र दोस्रो खेलमा मलेसियालाई पनि ९ विकेटले हराएको थियो। तेस्रो खेलमा भने नेपाललाई नेदरल्यान्ड्सले पराजित गरेको थियो।