काठमाडौं। स्पेनिस ला लिगाको उपाधि एटलेटिको म्याड्रिडले जितेको छ । उपाधि होडमा रहेको रियल म्याड्रिडले जित हासिल गरे पनि एटलेटिकोले दुई अंकको अग्रता लिँदै उपाधि पक्का गरेको हो ।
घरेलु टोली रियल भालाडोलिडमाथि २-१ को जित दर्ता गर्दै एटलेटिको च्याम्पियन बनेको हो । एटलेटिकोको जितमा एन्जल कोर्रिया र लुइस सुआरेजले १–१ गोल गरे । रियल म्याड्रिडले भने घरेलु मैदानमा भिल्लारियलविरुद्ध २-१ को जित दर्ता गर्यो ।
यस नतिजाले एटलेटिको ३८ खेलमा ८६ अंक जोड्न सफल रहयो । रियल भने ३८ खेलमा ८४ अंक जोड्दै उपविजेतामा सीमित रहयो । बार्सिलोनाले पनि अन्तिम खेल जित हासिल गर्दै तेस्रो स्थानमा ७९ अंक जोड्दै सिजन अन्त्य गर्यो ।
एटलेटिको भालाडोलिडविरुद्ध पहिलो हाफमा १–० ले पछि परेको थियो । भालाडोलिडका ओस्कार प्लानोले १८ औं मिनेटमा अग्रता दिलाएका थिए । उनले काउन्टर अट्याकमा मार्कोस डे सौसाले दिएको पासलाई मैदानको मध्यभागबाट अघि बढाउँदै पेनाल्टी क्षेत्रभित्र पुर्याएर गोल गरेका थिए ।
दोस्रो हाफको सुरुवातमा नै एटलेटिकोले बराबरी गोल फर्काउन सफल रहेको थियो । एन्जल कोर्रियाले खेलको ५७ औं मिनेटमा गोल गर्दै उपाधि होडमा एटलेटिकोलाई केहि बलियो बनाएका थिए । उनले यानिक करास्कोको पासलाई पेनाल्टी क्षेत्रको बाहिरबाट प्रहार गर्दै गोलरक्षक जोर्डी मासिपलाई बिट गर्न सफल रहेका थिए ।
खेलको ६६ औं मिनेटमा सुआरेजले गोल गर्दै खेलमा एटलेटिकोलाई अग्रता दिलाए । भालाडोलिडका खेलाडीले दिएको ब्याकपास नियन्त्रणबाहिर रहेपछि मैदानको मध्यभागबाट एक्लै बल अघि बढाएर सुआरेजले पेनाल्टी क्षेत्रभित्र वन भर्सेस वन स्थितिमा गोल गरेका थिए । भालाडोलिड यस हारसँगै लिगबाट रेलिगेसनमा परेको छ ।
यता, रियल म्याड्रिडले भने भिल्लारियलविरुद्ध जित निकाले पनि एटलेटिकोले जित निकाल्दा उपाधि जित्न सकेन । पाहुना टोलीका लागि येरेमी पिनोले २० औं मिनेटमा गोल गरेका थिए । उनले जेरार्ड मोरेनोको चिप पासलाई पेनाल्टी क्षेत्रभित्र दोस्रो प्रयासमा नियन्त्रणमा लिँदै गोलको दिशा दिएका थिए । उनको अन्तिम प्रहार गोलरक्षक थिबाउट कोर्टुवाले बचाउने प्रयास गरेपनि हातमा लाग्दै पोस्टमा छिरेको थियो ।
दोस्रो हाफको सुरुआतमै करीम बेन्जेमाले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले उक्त गोललाई अफसाइड दिएका थिए । क्यासेमिरोको क्रसमा बेन्जेमाले हेडरमार्फत गोल गरेपनि क्रस दिने बेलामा बेन्जेमा अफसाइड रहेको भिडियोमा देखिएको थियो ।
खेलको ६६ औं मिनेटमा बेन्जेमाले खेल बराबरी गर्ने सुवर्ण अवसर खेर फाले । गोलरक्षक रुल्लीले दबाबमा गरेको क्लिअरेन्स पेनाल्टी क्षेत्रभित्र अनामार्क रहेका बेन्जेमाले नियन्त्रणमा लिएपनि उनले वन भर्सेस वनको स्थितिमा गोल गर्न सकेनन् ।
खेलको तीन मिनेट समय बाँकी रहँदा बेन्जेमाले बराबरी गोल गरे । उनले रोड्रीगोको पासलाई पेनाल्टी क्षेत्र भित्र नियन्त्रणमा लिँदै टप कर्नरमा गोल गरेका थिए । इन्ज्युरी समयमा बेन्जेमाको क्रसमा लुका मोड्रीचले गोल गरे पनि उक्त जित उपाधिका लागि पर्याप्त रहेन ।
क्याटलान क्लब बार्सिलोनाले लिगको अन्तिम खेलमा एइबारमाथि १-० को जित दर्ता गर्यो । बार्सिलोनाको जितमा एन्टोइन ग्रिजमनले निर्णायक गोल गरेका थिए । ८१ औं मिनेटमा उनले शानदार भलीमार्फत गोल गर्दै जित सुनिश्चित गरेका थिए ।