काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसिया कपका लागि भइरहेको एसियाली क्षेत्रको संयुक्त छनोट खेलको दोस्रो चरण बिहीबार सुरु हुँदैछ ।
कुवेतमा हुने समूह बीको छनोट खेलमा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेईले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले आफ्नो पहिलो खेल बिहीबार चाइनिज ताइपेईसँग खेल्दैछ, त्यसै समयमा अष्ट्रेलिया र घरेलु टोली कुवेतबीच पनि खेल हुँदैछ ।
नेपाल र चाइनिज ताइपेईलाई सन् २०२२ को कतार विश्वकप छनोटको अर्को चरणमा पुग्न कठिन छ । अझ चाइनिज ताइपेई त विश्वकपको तेस्रो चरणमा पुग्ने होडबाट बाहिरिसकेको छ । नेपाल अंकगणितीय रुपमा त्यो होडमा कायम छ तर त्यहाँ पुग्न असम्भवजस्तै छ ।
अष्ट्रेलिया, कुवेत र जोर्डन विश्वकप छनोटको तेस्रो चरण पुग्ने होडमा छन् । अहिलेसम्मको चार खेलमा शतप्रतिशत जितको नतिजासहित अष्ट्रेलिया १२ अंक जोडेर शीर्ष स्थानमा छ । ५ खेलबाट कुवेत र जोर्डनको समान १० अंक छ । नेपालले एक जितबाट ३ अंक जोडेको छ र चाइनिज ताइपेई पाँचै खेल हार्दा अंकविहीन छ ।
समूह बी का शीर्ष ३ टिम समूह विजेता बन्दै विश्वकपको तेस्रो चरणमा पुगेर एसिया कपमा सिधै छनोट हुन चाहन्छन् । नेपाल र चाइनिज ताइपेई भने समूहमा चौथो बन्ने एसियाका ८ टिममध्ये उत्कृष्ट चारमा पर्दै एसिया कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने लक्ष्यमा छ ।
एसियामा कुल २४ टिमले अन्तिम चरणको छनोट खेल्नेछ भने त्यसबाट १२ टिम चीनमा हुने एसिया कपमा छनोट हुनेछ । नेपालको अहिलेको लक्ष्य भनेको विश्वकप नभई एसिया कपमा छनोट हुने हो र चाइनिज ताइपेईको चाहना पनि त्यही हो ।
अर्कोतर्फ समूह एमा रहेको उत्तर कोरियाले छनोट चरणका बाँकी खेल नखेल्ने निर्णय गरेपछि यसको पूरा असर बाँकी ७ टिमलाई परेको छ ।
सबै समूहको अंकको हिसाब मिलाउन एएफसीले समूह चरणका सबै खेल सकिएपछि हरेक समूहमा दोस्रो हुने र पाँचौ हुने टिमको खेलको अंक नगन्ने निर्णय गरेको छ । त्यस्तै चौथो हुने र पाँचौ हुने बीचको खेलको नतिजा पनि गणना हुने छैन । उत्तर कोरियाले यसअघि खेलेका सबै खेलको नतिजा रद्द भएको छ भने बाँकी खेल पनि रद्द गरिएको छ ।