लन्डन दूतावासमा तीज विशेष कार्यक्रम

  • प्रकाशित मिति : २०७९ भाद्र ५, आईतवार
  • नेपाल टेल संवाददाता

लन्डन । लन्डनस्थित नेपाली दूतावासमा नेपाली नारीहरुको महान पर्व हरितालिका तीज विशेष कार्यक्रम भएको छ ।

राजदूत ज्ञानचन्द्र आचार्यकी धर्मपत्नी सुनिता आचार्यले शनिबार आयोजना गरेको उक्त कार्यक्रममा झण्डै एकसय जना दिदीबहिनी सहभागी भए । कार्यक्रममा केही पुरुष पनि थिए ।



रेल हड्तालका कारण कयौं निम्तालु महिला सहभागी हुन असमर्थ रहे । कार्यक्रममा दूतावासले चेलीहरुलाई दर ख्वाएर तीजको शुभकामना दिएको थियो ।

प्रमुख अतिथी श्रीमति आचार्यले तीजको शुभकामना दिंदै प्रवासमा पनि नेपाली चाडपर्व र कला संस्कृति जगेर्नामा जोड दिइन् ।

कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय कलाकारहरु भूपेन्द्र थापा र तारा श्रीसले विशेष प्रस्तुति दिएका थिए । उनीहरुलाई दूतावासका तर्फबाट सम्मान पनि गरिएको थियो ।

दूतावासकी उपनियोग प्रमुख रोशन खनालले दूतावासले नेपाली चाडपर्व र कला- संस्कृतिलाई सधैं विशेष प्राथमिकता दिने उल्लेख गर्दै यस्तो तीज कार्यक्रमले दिदीबहिनीहरुबीच आत्मियता र आपसी सम्बन्ध वृद्धि गर्न सघाउने बताइन् ।

दूतावासले वर्षेनी हरितालिका तीज र दशैं विशेष कार्यक्रम गरि नेपाली समुदायलाई एकै ठाउंमा एकत्रित गर्ने परम्परा कायम राखेको छ ।