बेलायतका नयाँ राजाको पहिलो सम्बोधन: जीवनभर सेवामा समर्पित हुने प्रतिबद्धता

  • प्रकाशित मिति : २०७९ भाद्र २६, आईतवार
  • nepaltale.com

लण्डन। बेलायतका नयाँ राजा चाल्र्स तृतीयले राजाको जिम्मेवारी सम्हालेपछि पहिलो सम्बोधन गर्नुभएको छ ।

राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले आफू पनि आफ्नी आमाले झै आफ्नो जीवन पुरै सेवामा समर्पित गर्ने घोषणा गर्नुभएको छ ।

बेलायतकी महारानी एलिजावेथ द्वितीयको गत बिहीबार निधन भएपछि उहाँका जेठा छोरा चाल्र्स तृतीयले राजाको जिम्मेवारी पाउनुभएको हो।

राजाको रूपमा पहिलो सम्बोधन गर्ने क्रममा उहाँले आफू आफ्नो माताको निधनबाट अत्यन्त दुखी रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले आफ्नी आमालाई आफु र आफ्नो परिवारका लागि प्रेरणा र उदाहरणको पात्रका रूपमा चित्रित गर्दै उहाँको प्रेम, स्नेह, मार्गदर्शन, बुझाइ र उदाहरणका लागि अरू परिवारले आफ्नी आमासँग महसुस गर्ने जस्तै गरी आफू पनि ऋणी रहेको बताउनुभयो ।

उहाँले भन्नुभएको छ, “महारानी एलिजाबेथको जीवन सार्थक रह्यो, उहाँले नियतिका साथ गरेको प्रतिबद्धता पूरा गर्नुभयो र उहाँको निधनमा गहिरो दुःख छ ।”

अहिले आफूहरूसँगै बेलायतका बासिन्दा, उहाँ राष्ट्रप्रमुख रहेका सबै देशहरू, राष्ट्रमण्डल र विश्वभरका शुभेच्छुकहरू पनि दुखी रहेको राजा चाल्र्सले सबैप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।

“मेरी आमाले ७० वर्षभन्दा लामो समयदेखि यति धेरै देशका मानिसको सेवा गरेकोमा हामी उहाँप्रति पनि कृतज्ञता प्रकट गर्न चाहन्छौँ,” उहाँले भन्नुभएको छ ।

एक शासकका रूपमा महारानी एलिजावेथ द्वितीयको समर्पण र प्रतिबद्धतामा जीवनभरी कहिल्यै कम नभएको पनि उहाँले उल्लेख गर्नुभएको छ ।

राजनीतिक तथा पारिवारिक जीवनमा आएका उथलपुथल, खुशी, दुःख, समस्या आदि कुनै पनि बेला उहाँ विचलित नहुनु भएको राजा चाल्र्सले स्मरण गर्नुभएको छ ।

उहाँले राजगद्दीको जिम्मेवारी सम्हालेदेखिको ७० वर्षको दौरानमा समाज, विविध संस्कृति र विश्वासमा परिवर्तन भएपनि त्यसको सामना गर्नु ठूलो चुनौतीका रूपमा राजा चाल्र्सले उल्लेख गर्नुभएको छ ।