लन्डन – लन्डनमा मौलिक नेवारी परम्पराअनुसार ‘गुथि भ्वय्-‘ (नेवारी भोज) गरिएको छ।
पासा पुचः गुथि साउथ इष्ट लन्डन शाखाको आयोजनामा आइतबार चार्ल्टन पार्क रग्बी क्लबमा आयोजित भोजमा २ सय ५० जनाभन्दा बढीको सहभागिता रह्यो।
मौलिक नेवारी परम्पराअनुसार विभिन्न ४० भन्दा धेरै थरिका परिकारहरु समेटिएको भोज पलेटी कसेर लप्टे (टपरी) मा खाइएको थियो।
शुरुमा समयबजी र पछि मुख्य भ्वय् गरी दुई चरणमा भोज सर्भ गरिएको थियो। भोजमा नेवारी परम्पराअनुसार लन्डनमै तयार पारिएका ऐला र थों जस्ता मौलिक पेयहरु पनि विशेष आकर्षण थिए।
भोज शुरु हुनुपूर्व समाजका ९ जना ज्येष्ठ सदस्यहरुलाई थकाली मानेर सम्मानसहित फेटा गुथिएको थियो। उनीहरुसंगै भोजमा सहभागी विभिन्न अतिथिहरुलाई मौलिक धिमेबाजा बजाएर स्वागत गर्दै भोजस्थलसम्म पुर्याइएको थियो । विधिपूर्वक सबैभन्दा ज्येष्ठ सदस्य नकिं र अरु थकालीले शुरु गरेपछि अरु सबैका लागि पनि भोज खुला भएको थियो ।
भोजमा सबैभन्दा ज्येष्ठ सदस्य मोतीदेवी डंगोल नकिंको भूमिका निर्वाह गरेकी थिइन् भने अरु थकालीमा कुमार श्रेष्ठ, नगेन्द्र श्रेष्ठ, चुत्रबहादुर श्रेष्ठ, अमर मल्ल, रामप्रसाद श्रेष्ठ,जीवन बज्राचार्य, महेन्द्र शाक्य र कृष्ण श्रेष्ठ थिए ।
भोजमा बेलायतको गैरनेवार नेपाली समुदाय र केही बेलायती तथा विदेशी पाहुनाहरु पनि सहभागी थिए। भोजका लागि आयरल्यान्ड र वेल्ससहित टाढा टाढाका स्थानबाट लन्डनसम्म आउनेहरु पनि थिए।
बेलायतको कोर्क युनिभर्सिटीबाट नेवारी संस्कृतिमा विद्यावारिधि गर्दै गरेकी इटालियन नागरिक मर्लिना फ्रिसोना, सोही युनिभिर्सिटीमा बौद्ध दर्शनकी प्राध्यापक जापानिज नागरिक ताट्सोमा पादोआन, सोआस् युनिभर्सिटीकी प्राध्यापक स्टेफनी लोटर, डा मीना शर्मालगायतका अध्येताहरु पनि भोजमा उपस्थित थिए ।
भोजमा पस्किएका सबै परिकारहरु संस्थाका सदस्यहरु आफैले स्वयमसेवी रुपमा तयार पारेका थिए । भोजमा परिकारहरु बांड्न र अतिथि सत्कारमा खटिनेहरुमा नयाँ पुस्ताका तन्नेरीहरु पनि धेरै थिए ।
आयोजक पासा पुचः गुथि यूके साउथ इष्ट लन्डन शाखाका अध्यक्ष सुरोज मास्केले भोज सफल पार्न अहोरात्र खटिने संस्थाका सबै सदस्य तथा स्वयम्सेवक र अतिथिहरु सबैप्रति धन्यवाद ज्ञापन गरे । भोजमा बालबालिकाबाहेक पनि २ सय ५० जनाभन्दा बढीले भाग लिएको जानकारी उनले दिए ।-nepalilink