लण्डन । १८ महापुराणका प्रवक्ता पण्डित कुवेर सुवेदीको उपस्थितिमा मंगलबारदेखि लण्डनस्थित विश्व हिन्दू मन्दिरमा साताव्यापी सार्वजनिक श्रीमद्भागवत कथा सुरु हुने भएको छ।
धर्मदर्शन फाउन्डेशन नेपाल र बेलायत निवासी भक्तजनहरूको सक्रियतामा यही अगस्ट १२ देखि १८ तारिखसम्म सञ्चालन हुने श्रीमद्भागवत कथाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन् । श्रीकृष्ण जन्माष्टमीको पावन अवसर पारेर यो कथा सप्ताह आयोजना हुन लागेको हो।
कार्यक्रम प्रत्येक दिन साँझ ४ देखि ६:३० बजेसम्म सञ्चालन हुनेछ। यस कार्यक्रमको उद्घाटन बेलायतका लागि नेपाली राजदूत चन्द्र घिमिरेले दीप प्रज्वलनबाट गर्नेछन्।
श्रीमद्भागवत कथा सुन्न बेलायतका विभिन्न शहरबाट नेपालीहरू साउथल आउने तयारीमा छन्। आयोजकका अनुसार, बेलायतमा पहिलो पटक सार्वजनिक श्रीमद्भागवत कथा सप्ताह आयोजना हुन लागेको हो।
कथावाचनका लागि अन्तरराष्ट्रिय ख्यातिप्राप्त कथाव्यास पण्डित कुवेर सुवेदी बेलायत आएका छन्।