नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध तीन खेलको युनिटी कप अन्तर्राष्ट्रिय टी–२० क्रिकेट श्रृंखलाअन्तर्गत पहिलो खेल आज संयुक्त अरब इमिरेट्स (युएई)को शारजाह क्रिकेट मैदानमा खेल्दैछ।
योसँगै नेपाल पहिलोपटक दुईपटकको विश्वकप विजेता टोली वेस्ट इन्डिजसँग अन्तर्राष्ट्रिय टी–२० मा भिड्न लागेको हो। श्रृंखलाको दोस्रो खेल असोज १३ गते र तेस्रो खेल असोज १४ गते हुने तालिका छ।
नेपालले यो श्रृंखला खेलिसकेपछि आगामी आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट प्रतियोगिता खेल्न ओमान प्रस्थान गर्नेछ। वेस्ट इन्डिजसँगको श्रृंखला त्यही तयारीको हिस्सा हो।
रोहित पौडेल कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित सन्दीप लामिछाने, सोमपाल कामी, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ शेख, आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप जोरा, आरिफ शेख, ललित नारायण राजवंशी, गुलशन झा र साहब आलम रहेका छन्।
यता, अकिल होसेनको नेतृत्वमा वेस्ट इन्डिज टोलीमा फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकिम अगस्ट, नभिन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स र शमार स्प्रिङ्गर रहेका छन्।