सुपर सिक्समा नेपालको पहिलो प्रतिद्वन्द्वी यूएई, खेल कहिले ?

  • प्रकाशित मिति : २०८२ आश्विन २४, शुक्रबार
  • नेपाल टेल संवाददाता

ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत सुपर सिक्स चरणमा प्रवेश गरेको नेपालले आफ्नो पहिलो खेल आइतबार खेल्ने भएको छ ।

नेपालले समूह चरणमा अपराजित रहँदै समूह ‘बी’ को विजेता बनेको हो भने समूह ‘ए’ विजेता यूएईसँग सुपर सिक्सको पहिलो भिडन्त तय भएको छ ।



तालिकाअनुसार नेपाल र यूएईबीचको खेल आइतबार अपरान्ह सवा ४ बजेदेखि सुरु हुनेछ ।

यो खेल नेपालका लागि महत्वपूर्ण हुनेछ, किनभने सुपर सिक्सको नतिजाले नै अन्तिम दुई टोलीको विश्वकप यात्राको सम्भावना निर्धारण गर्नेछ ।

नेपालले सुपर सिक्समा चार खेल खेल्नेछ । पहिलो खेलमा यूएईसँग भिडेपछि नेपालले दोस्रो खेल १३ अक्टोबरमा कतारविरुद्ध खेल्ने तालिका छ ।

त्यसपछि नेपालले १५ र १७ अक्टोबरमा हुने बाँकी दुई खेलमा अन्य समूहका टोलीसँग प्रतिस्पर्धा गर्नेछ, जसको टुंगो भने अहिलेसम्म लाग्न बाँकी छ ।

समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले सुपर सिक्समा पनि विजयी यात्रा जारी राख्ने लक्ष्य राखेको छ ।