लन्डन। बेलायतको माइग्रेसन एडभाइजरी कमिटीले अस्थायी कामदार भिसाको लागि पहिलो चरणमा ८२ वटा मध्यम दक्ष पेशाहरूको सूची सार्वजनिक गरेको छ।
यो सूची श्रम अभाव भएका क्षेत्रमा विदेशी कामदार भर्ना गर्न तयार गरिएको हो। बेलायती गृहमन्त्रालयलाई बुझाइएको प्रतिवेदनमा यी पेशाहरूलाई देशको अर्थतन्त्र मजबुद बनाउन अत्यावश्यक मानिएको छ।
नयाँ योजनाअनुसार विदेशी नागरिकहरूलाई ३ देखि ५ वर्षसम्म बेलायतमा अस्थायी रूपमा काम गर्न अनुमति दिइनेछ। तर, यो भिसाले स्थायी बसोबास वा नागरिकता प्राप्त गर्न सहयोग गर्नेछैन।
भिसाका लागि न्यूनतम ‘बी १’ स्तरको अंग्रेजी दक्षता आवश्यक हुनेछ। बेलायत सरकारका अनुसार यो कार्यक्रमले आवश्यक सीप भएका कामदारहरूलाई लक्षित गरी श्रम अभाव भएका क्षेत्रमा सहयोग पुर्याउने उद्देश्य राखेको छ।
माइग्रेसन एडभाइजरी कमिटीले सिफारिस गरेको अस्थायी सूचीमा इन्जिनियरिङ प्राविधिक, वेल्डर, फोटोग्राफर, अनुवादक, म्यानेजर, र कारपेन्ट्रीलगायतका पेशाहरू समावेश छन्।
यो पहिलो चरणको रिभ्यू हो भने दोस्रो चरणको रिभ्यू जुलाई २०२६ मा सुरु हुनेछ। त्यसपछि मात्रै अन्तिम सूची सार्वजनिक गरिनेछ।
सरकारका अनुसार अस्थायी कामदार भिसा प्रणालीले योग्य कामदारलाई भविष्यमा उच्च स्तरको दक्षता आवश्यक पर्ने काम भिसाको लागि समेत सहयोग गर्नेछ।
कामदार भिसाको लागि प्रस्तावित पेशाहरुको सूचीको लागि यहाँ क्लिक गर्नुहोस्।