दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङ प्रदर्शनमा नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई रोमाञ्चक १ रनले पराजित गरेको छ ।
आइतबार सम्पन्न खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १४० रनको लक्ष्य दिएको थियो । जवाफमा यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रन मात्र बनाउन सक्यो ।
अन्तिम ओभरमा यूएईलाई जितका लागि १० रन चाहिएको थियो, तर ऐरीले ९ रन मात्र दिँदै एक विकेट हात पारे । बाँकी दुई ब्याटर रनआउट हुँदा नेपालले ऐतिहासिक जित दर्ता गर्यो ।
यूएईका अलिसान सराफुले ५८ रनको उत्कृष्ट पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् । ४० बलमा उनले ३ चौका र ५ छक्का प्रहार गरे । जोनाथन फिगीले १९, धुर्व परासरले ३२ र जाहिद अलीले ११ रन जोडे ।
नेपालका दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २२ रन खर्चिँदै ३ विकेट लिए । सोमपाल कामी, गुलशनकुमार झा र सन्दीप लामिछानेले समान १–१ विकेट झारे ।
ब्याटिङतर्फ नेपालका ओपनर आसिफ शेखले ५१ रनको अर्धशतकीय पारी खेले । ४७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै उनले टोलीको इनिङ्स सम्हाले । अर्का ओपनर कुशल भुर्तेलले २८ रन, कप्तान रोहित पौडेलले २०, गुलशन झाले १४ र कुशल मल्लले १० रन योगदान गरे ।
यूएईका बलर मुहम्मद रोहिद, हैदर अली, हर्षित कौशिक, जुनैद सिद्दिकी, जाहिद अली र धुर्व परासरले समान एक–एक विकेट लिए ।
यस जितसँगै नेपाल सुपर सिक्समा चार अंकसहित विश्वकप नजिक पुगेको छ । ओमानको पनि समान अंक छ भने यूएई दुई अंकमा सीमित छ ।