काठमाडौं । हमासले नेपालका विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ । जोशीसहित चारजना बन्धकहरूको शव आजै इजरायललाई बुझाउने भएको हो ।
हमासको सैन्य शाखाले अहिले चार जना बन्धकहरूको नाम सार्वजनिक गरेको बीबीसीले उल्लेख गरेको छ ।
बीबीसीका अनुसार हमासले इ इलौज,योस्सी शराबी,बिपिन जोशी, डानियल पेरेत्सको शव बुझाउन लागेको हो ।
हमासले आजै जिवित २० जनाहरुलाई मुक्त गरेको थियो । मृत्यु भएका सबै बन्धकहरूको अवशेष २८ जना सम्मको हुनसक्ने भनिएको छ ।
हमासले पछिल्लोपल्ट सन् ७ अक्टोबर २०२३ मा किबुज क्षेत्रमा आक्रमण गरेको थियो ।उक्त आक्रमण सुरु गरेको दोस्रो दिन (७ अक्टोबर)भएको आक्रमणमा अध्ययनका लागि गएका १६ जना नेपाली विद्यार्थी पनि परेका थिए ।
इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गएका उनीहरू सबै गाजा क्षेत्र नजिकै पर्ने दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा बस्दै आएका थिए ।
आक्रमणको एक दिनपछि इजरायलस्थित नेपाली दूतावासले आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि गरेको थियो । मारिएका नेपालीसँगै रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई हमासले बन्धक बनाएर लगेको थियो ।
हमासले बन्धक बनाएको एक महिनापछि (सन् २०२३ नोभेम्बर १७) विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए । ३३ सेकेन्ड लामो उक्त भिडियोमा अन्तिमपल्ट देखिएका विपिन आज सोमबार जीवित नरहेको जानकारी इजरायली अधिकारीहरूले दिएका थिए।
यसबीचमा विपिनलाई प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासको कब्जाबाट सकुशल रिहाइका लागि नेपाल सरकारका तर्फबाट भरपुर प्रयास भएको थियो । तथापि, विपिनलाई सकुशल स्वदेश फिर्ता ल्याउने प्रयास सफल भएन ।
हमासको आक्रमणमा परेका मृतकको शव र घाइतेको उद्धार तथा स्वदेश फर्किन चाहने नेपाली नागरिक ल्याउन तत्कालीन परराष्ट्रमन्त्री एनपी साउद १२ अक्टोबर २०२३ मा इजरायलको तेल अभिभ पुगेका थिए ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सन् २०२३ नोभेम्बर २५ (२०८० मंसिर ९) मा नेपाल भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुरैखीसँगको भेटमा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
बुबा महानन्द जोशी र आमा पद्मा जोशीले छिटो उद्धार गरिदिन आग्रह पनि गरेका थिए । प्रचण्डले विपिनको सकुशल रिहाइका लागि अधिकतम कूटनीतिक पहल जारी राखेको बताएका थिए ।
विपिन बन्धक बनाइएको ४३औँ दिन (२ मंसिर २०८०) मा बुबाआमाले गृहजिल्ला भ्रमणमा रहेका तत्कालीन परराष्ट्रमन्त्री साउदसित कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा भेटेर छोराको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
विपिनको रिहाइका लागि राष्ट्रपति रामचन्द्र पौडेलले पनि पहल गरेका थिए । उनले ११ वैशाख २०८१ मा कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँगको भेटमा विपिनको रिहाइका लागि आग्रह गरेका थिए । राष्ट्रपति पौडेलको निमन्त्रणामा उनी दुई दिने राजकीय भ्रमणमा नेपाल आएका थिए ।
साथै विपिनका आमाले इजरायली राष्ट्रपतिसँग विपिनकी छोराको शीघ्र रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी थिइन् ।
बहिनी पुष्पाले पनि राष्ट्रपति हर्जोगसँग आफ्नो दाइ विद्यार्थीका रूपमा आएको र निदोष भएको भन्दै हमासको बन्धकबाट मुक्त गराउन अपिल गरेकी थिइन् ।
राजदूत पण्डितले पनि राष्ट्रपतिसमक्ष विभिन्न तवरबाट पहल गरेर विपिनको स्थितिबारे जानकारी गराउन अनुरोध गरेका थिए । जवाफमा इजरायली राष्ट्रपति हर्जोगले विपिनको रिहाइका लागि कोसिस भइरहेको जानकारी गराएका थिए ।