इजरायल सरकारले हमास लडाकुद्वारा हत्या गरिएका विपिन जोशीका परिवारलाई आफ्नै नागरिकको परिवारसरह अधिकार र सहयोग दिने भएको छ। हमासले बन्धक बनाएर हत्या गरेको पुष्टि भएको दुई दिनपछि इजरायल सरकारले उक्त कुराको जानकारी दिएको हो।
इजरायलको परराष्ट्र मन्त्रालयका निर्देशक जनरल एडेन बार–टालले परराष्ट्र सचिव अमृतबहादुर राईलाई टेलिफोन गरी विपिनको परिवारलाई आफ्नै नागरिकसरह व्यवहार र हेरचाह गर्ने बताएका हुन्।
इजरायल सरकारले तेलअविभ र काठमाडौंमा विपिनको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम गर्ने निर्देशक बार–टालले बताए। विपिनको शव काठमाडौं पठाउने तयारी भइरहेको जानकारी दिँदै उनले विपिनको हत्या “क्रूर र अमानवीय” भएको भन्दै नेपाली जनताप्रति संवेदना प्रकट गरे।
परराष्ट्र सचिव राईले कठिन घडीमा इजरायल सरकारले देखाएको सद्भावप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका थिए ।
सन् २०२३ अक्टोबर ७ मा इजरायलको दक्षिणी क्षेत्र किबुज एलुमिममा हमासको आक्रमणमा अपहरणमा परेका विपिनको यही सातामात्र मृत्यु पुष्टि भएको थियो । अपहरणको ७३८ दिनपछि उनको शव विद्रोही समूह हमासले इजरायल सैनिकलाई फिर्ता गरेको र त्यहाँबाट नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ ।