अमेरिकामा डोनाल्ड ट्रम्पका प्रभावशाली समर्थक चार्ली कर्कको अचानक हत्या भयो । हत्याले सनसनी फैलायो । हत्यारा पत्ता लगाउन प्रहरी जोडतोडले लाग्यो । राष्ट्रपतिसँग घनिष्ठ सम्बन्ध रहेका तथा भविष्यमा अमेरिकी दक्षिणपन्थीहरूको सम्भावित नेता मानिएका कर्कको हत्याले प्रहरीमा थप दबाब सिर्जना गरेकै थियो ।
अन्ततः हत्यारा पत्ता लाग्यो । भयानक गोलीकाण्डका अभियुक्त सार्वजनिक रूपमा पहिचान हुनासाथ उटाह राज्यका गभर्नर स्पेन्सर कक्सले हत्या र हत्यारा दुवैको भर्त्सना गर्दै सामाजिक सञ्जालमा अभिव्यक्ति दिए ।
उनले सञ्चारकर्मीहरूसँगको कुराकानीमा ‘सामाजिक सञ्जाल समाजको क्यान्सर बनिसकेको’ बताए । हत्याको दुई दिनपछि भएको उक्त अन्तर्क्रियामा उनले जनतालाई सामाजिक सञ्जाल बन्द गरेर, त्यहाँबाट आफूलाई बाहिर निकाल्दै सामाजिक जीवनमा फर्किन आह्वानसमेत गरे ।
अर्का सिनेटर जेम्स ल्याङ्कफोर्डले केही दिनपछि त्यस्तै प्रतिक्रिया दिए । उनले भने, ‘सामाजिक सञ्जालले सधैँ सबैभन्दा बढी आक्रोशित, हल्लाखल्ला गर्ने तथा नानाभाँती कुरा गर्नेलाई अघि सारेको छ । जतिवेला पनि त्यस्तै र तिनीहरूजस्तैलाई दोहोर्याइरहेको छ ।’
सीबीएसको कार्यक्रम ‘फेस द नेसन’सँग कुरा गर्दै अर्का नेता जोए नेगुसले सामाजिक सञ्जालहरू ज्यादै घातक भएको बताए । एबीसी न्यूजसँग कुरा गर्ने थप केही विज्ञले पनि सामाजिक सञ्जाललाई सार्वजनिक द्वेष बढाउने तथा कम्प्युटरबाट तयार गरिएका तस्बिरहरू फैलाउँदै भावनात्मक रूपमा आम मानिसलाई उक्साहट गरेको आरोप लगाए ।
यद्यपि उनीहरूले अनलाइन प्लेटफर्महरूलाई राजनीतिक हिंसाको एकमात्र प्रत्यक्ष कारणका रूपमा भने लिएनन् । सामाजिक सञ्जालले सामाजिक कलह, समाजमा चर्चित मानिसका भड्काउपूर्ण अभिव्यक्ति तथा हात–हतियारको उपलब्धता जस्ता कारकहरूमा आधारित जोखिमलाई सामाजिक सञ्जालले थप बढाएको कुरामा भने उनीहरू सहमत भए ।
राजनीतिशास्त्री तथा र शिकागो विश्वविद्यालयमा ‘सुरक्षा र खतरा’ सम्बन्धी शिकागो परियोजनाका निर्देशक रोबर्ट पेप भन्छन्, ‘पक्कै पनि सामाजिक सञ्जाल हिंसा बढाउन योगदान पुर्याउने कारक त हो । यो आगोमा पेट्रोल खन्याएजस्तो हो, तर आफैँमा आगो भने होइन ।’
गत सेप्टेम्बर १० मा क्याम्पसहरूमा भाषण दिँदै हिँड्ने क्रममा पहिलो कार्यक्रम अन्तर्गत चार्ली कर्क उटाह भ्याली विश्वविद्यालयमा आयोजित समारोहको मञ्चमा पुग्दा उनलाई गोली हानी हत्या गरिएको थियो । हत्याको करिब ४८ घण्टापछि प्रहरीले २२ वर्षीय टेलर रोबिन्सन नामका बन्दुकधारीलाई पक्राउ गरेको थियो । पक्राउ लगत्तै उनलाई गम्भीर हत्यासहित धेरै आरोपमा मुद्दा दर्ता गरियो ।
रोबिन्सनले अनलाइन प्लेटफर्म ‘डिस्कर्ड’ र ‘भिडियो गेम’हरूको अत्यधिक प्रयोग गरेको पाइयो । घटनालगत्तै यस्ता अनलाइन ‘नेटवर्क’हरूले राजनीतिक हिंसा भड्काउन भूमिका खेल्न सक्नेबारे धेरैको ध्यान आकृष्ट भयो । रोबिन्सनमा तिनीहरूको प्रभाव कति थियो भन्नेबारे विस्तृत विवरण आइसकेको छैन ।
अनुसन्धानका क्रममा उनको ‘डिस्कर्ड’ गतिविधि हेर्दा उनले आफू पक्राउ पर्नुभन्दा दुई घण्टा पहिले त्यही प्लेटफर्ममा केही पोस्ट गरेको पाइयो, जहाँ उनले साथीहरूको सानो समूहलाई– ‘साथीहरू ! तपाईं–हाम्रालागि नराम्रो खबर छ… म हिजो उटाह भ्याली विश्वविद्यालयमा थिएँ । यो सबैका लागि माफी चाहन्छु’ भनेका थिए ।
एफबीआईका निर्देशक काश पटेलले गत हप्ता सिनेट अन्तर्गतको न्यायिक समितिमा भएको सुनुवाइका क्रममा डिस्कर्डमा भएको सन्देशबारे उल्लेख गरेका थिए । साथै एफबीआईले रोबिन्सनसँगको च्याटमा संलग्न सबैजनाबारे अनुसन्धान गरिरहेको बताएका थिए ।
पटेलका अनुसार डिस्कर्डमा रोबिन्सनसँग २० जनाभन्दा धेरै व्यक्ति जोडिएका छन् । उनीहरू सबैलाई कारबाहीको दायरामा ल्याइने उनको भनाइ थियो ।
आपसी संवाद तथा सूचनाको क्षेत्रमा अभूतपूर्व परिवर्तन ल्याएको सामाजिक सञ्जाल पछिल्लो समय राजनीतिक हिंसा बढाउनमा पनि उत्तिकै महत्त्वपूर्ण भूमिकामा देखिन्छ ।
अतिवादी विचारधारालाई बढावा दिने, गलत जानकारी फैलाउने तथा कट्टर समूहहरूको चुस्त परिचालनलाई सहज बनाउँदै हिंसात्मक गतिविधिमा सहजीकरण गरेको पाइन्छ । फेसबुक, एक्स, टिकटकजस्ता प्लेटफर्मका अल्गोरिदमहरूले प्रायःजसो भावनात्मक स्वरूपका विवादास्पद तथा आपसमा फाटो ल्याउने सामग्रीलाई प्राथमिकता दिने गरेको पनि भेटिन्छ ।
त्यसो हुँदा आपसमा घृणा बढ्ने तथा हिंसात्मक सोचले बिस्तारै आमविचार जसरी समाजमा स्थान लिँदै जाने देखिन्छ । उस्तै भावना राख्ने मानिसहरू मात्र जोडिएको ‘इकोच्याम्बर’ सिर्जना हुन्छ । फलतः उग्रवादी चिन्तन अझै बढ्दै र सघन हुँदै जान्छ ।
इलेक्ट्रोनिक माध्यमबाट अफवाह, षड्यन्त्रका सिद्धान्तलगायत मिथ्या सूचना व्यापक मात्रामा फैलिन सजिलो हुन्छ । जसकारण आक्रोश, डर र अविश्वास थप बढ्दै जान्छ । परिचय लुकाएर गतिविधि गर्न सजिलो हुने कारण मानिसहरू घृणाले भरिएका टिप्पणी र धम्कीहरू फैलाउन झन् प्रोत्साहित हुँदै जान्छन् ।
सामाजिक सम्बन्धमा यसले सहानुभूति र सहिष्णुताको ह्रास गराउँदै जान्छ, जुन अन्ततः हिंसा र द्वन्द्वको कारक बन्न पुग्छ । मानिसको आम मनोविज्ञानलाई प्रभावित पारेर, भावनासँग खेलेर गलत काम गराउन सकिन्छ । त्यस्तो काम गर्ने मानिसलाई सामाजिक सञ्जालको इकोच्याम्बरका कारण मैले गरेको काम सही हो भन्ने लाग्छ ।
तर, समाजको ठुलो तप्काले त्यसलाई भिन्न ढंगले बुझेको हुन्छ । यसो भन्दै गर्दा सामाजिक सञ्जालको प्रयोग गलत काममा मात्रै हुन्छ भन्ने होइन । शान्ति स्थापना, चेतना विस्तार तथा अन्य मानवीय गतिविधिमा यसको प्रभावकारी प्रयोग हुनसक्छ ।
तर विगत केही वर्षको अनुभवमा हामी के भन्न सक्छौँ भने यसको दुरुपयोग हुने सम्भावना ज्यादा छ । प्लेटफर्महरूले राजनीतिक ध्रुवीकरण र सामाजिक तनाव बढाउँदै दैनिक जीवनमा हिंसात्मक द्वन्द्व उत्पन्न गर्ने माध्यमका रूपमा काम गर्ने सम्भावना पनि धेरै हुन्छ । त्यसैले सामाजिक सञ्जालको उपयोगमा सावधानी तथा सचेतना अनिवार्य बन्दै गएको छ ।
(एबीसी न्युजका क्याक्स जाह्न र लिलिया गेहोले तयार पारेको रिपोर्टको आधारमा तयार पारिएको)