नेपाल आगामी वर्ष भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटमा छनोट भएको छ ।
आईसीसी टी२० विश्वकप एसिया-इएफी छनोट अन्तर्गत बुधबार भएको सुपर सिक्सको खेलमा कतारले जापानलाई तथा यूएईले सामोआलाई हराएपछि नेपाल र ओमान एकआपसमा खेल्नुअघि नै विश्वकपमा छनोट भएका हुन् ।
नेपाल र ओमानबीच बुधबार राती हुने खेलको विजेताले टी२० विश्वकपमा स्थान बनाउने समिकरण थियो । तर त्यसअघिका भएका दुवै खेलको नतिजा आफू अनुुकल आएपछि नेपाल र ओमानले सुपर सिक्समा दुई खेल खेल्नुअघि नै विश्वकपको टिकट काटेको हो ।
सुपर सिक्समा नेपाल र ओमानले यसअघि नै लगातार दुई खेल जित्दै समान ६ अंक जोडिसकेको छ । सुपर सिक्समा शीर्ष तीनमा रहने टोली विश्वकप पुग्ने प्रावधान छ ।
नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएर सुपर सिक्समा पुगेको थियो । सुपर सिक्समा नेपालले यूएई र कतारलाई हराइसकेको छ भने ओमान र सामोअसँग खेल्न बाँकी छ । यस्तै ओमानले पनि कतार र युएईलाई नै पराजित गरिसकेको छ ।
युएईले सामोअलाई हराएपछि ४ अंक जोडेको छ र विश्वकप पुग्ने सम्भावना कायमै राखेको छ । अब सामोहले नेपाल र ओमानसँग दुई खेल खेल्न बाँकी छ । यस्तै युएईले जापानसँग खेल्न बाँकी छ ।
यस्तो अवस्थामा नेपाल र ओमान बाहेक अर्को एक टिमको मात्र ६ अंक पुग्ने समिकरण रहेकोले दुई टोलीको विश्वकपमा स्थान टुङ्गो लागेको हो ।
नेपालले पहिलोपटक सन् २०१४ मा टी-२० विश्वकप खेलेको थियो । त्यसपछि नेपालले दोस्रोपटक विश्वकप खेल्न १० वर्ष कुर्नुपरेको थियो ।
सन् २०२४ को विश्वकप खेलेको नेपालले समूह चरण पार गर्न नसकेपनि दक्षिण अफ्रिकालाई चुनौती दिएर १ रनले पराजित भएपछि विश्व क्रिकेटको ध्यान तानेको थियो ।