नेपाली टोलीमा रहेका १५ खेलाडीले जनही १९ लाख ५० हजार रूपैयाँ पाउने

  • प्रकाशित मिति : २०८२ आश्विन ३१, शुक्रबार
  • नेपाल टेल संवाददाता

आइसिसी टी-२० विश्वकप एसिया एन्ड इपिए छनोटको च्याम्पियन बनेर सन् २०२६ को विश्वकपमा छनोट भएसँगै नेपाली टोलीमा रहेका १५ खेलाडीले जनही १९ लाख ५० हजार रूपैयाँ पाउने भएका हुन्।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा उल्लेख भएअनुसार खेलाडीले पुरस्कार रकम पाउने पक्का भएको हो।



यो नियमावलीअनुसार खेलाडीले पुरस्कार पाउने यसअघि नै राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले पुष्टि गरेका थिए।

टोलीका प्रशिक्षकले ६ लाख २५ हजार र सहायक प्रशिक्षकले ३ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै नेपाल क्रिकेट संघले ६ लाख ५० हजार पाउने व्यवस्था छ।

नियमावलीमा महादेशीय क्रिकेट प्रतियोगिता वा डिभिजन एकबाट विश्वकपमा छनोट भएका यस्तो पुरस्कार दिइने उल्लेख छ। यो पुरस्कार लिनका लागि क्रिकेट संघले प्रक्रिया अघि बढाएपछि सरकारले प्रदान गर्नेछ।

विश्वकप छनोट खेलेको नेपाली टोलीका खेलाडीमा कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा र सोमपाल कामी छन्।