जेनजी आन्दोलनकारीमाथि हाई भेलोसिटी हतियारबाट गोली प्रहार

  • प्रकाशित मिति : २०८२ कार्तिक १२, बुधबार
  • नेपाल टेल संवाददाता

गत भदौ २३ र २४ गते भएको ‘जेन-जी’ आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर ३९ जना प्रदर्शनकारीको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौं उपत्यकामा गोली लागेर ३५ जना मारिएकामा १९ जनाको छातीमा, १० जनाको टाउकामा, ४ जनाको पेटमा र २ जनाको घाँटीमा गोली लागेको पुष्टि भएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक विभागले सरकारलाई बुझाएको प्रतिवेदनअनुसार मृत्यु भएका अधिकांशलाई कम्मरभन्दा माथिल्लो भागमा गोली लागेको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार, ‘सबैजसो मृतकको कम्मरमाथि गोली लागेको भेटियो । त्यसमा पनि धेरैको छातीमा गोली लागेको छ, टाउकोमा पनि गोली लागेको छ । एक जनालाई तीन वटा रबर बुलेट लागेको देखिन्छ, अरू सबैको शरीरमा मेटल बुलेट लागेको देखिन्छ ।’



उनले मारिएका सबैलाई ‘हाई भेलोसिटी’ (राइफललगायत घातक) हतियारबाट गोली लागेको पाइएको बताए । २३ र २४ भदौको प्रदर्शनमा ४१ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र तीन जना प्रहरी पनि मारिएका थिए । प्रहरीको मृत्यु प्रदर्शनकारीको कुटपिटबाट भएको थियो भने कैदीबन्दी भाग्ने क्रममा प्रहरी र सेनाले चलाएको गोली लागेर मारिएका थिए । १० कैदीबन्दीमध्ये चार जनालाई सेना र ६ जनालाई प्रहरीको गोली लागेको थियो ।

दोस्रो दिन मारिएका ४१ प्रदर्शनकारीमध्ये १७ जनालाई गोली लागेको थियो, अरू २४ जना आगजनीसहितका घटनामा परेर मारिएका थिए । काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा मात्र सात जनाको शव जलेको अवस्थामा भेटिएका थिए । सुनसरी र मोरङको भाटभटेनीमा पनि पाँच जनाको शव त्यही अवस्थामा फेला परेका थिए ।

तर डेढ महिनासम्म पनि यी मृतकहरूको पहिचान खुल्न सकेको छैन । चुच्चेपाटीमा भेटिएका कंकालहरू त्रिवि शिक्षण अस्पतालमा प्लास्टिकका पोकामा राखिएको छ भने डीएनए परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।