दिल्ली विमानस्थलबाट सम्भवीलाई फिर्ता पठाउनुमा हाम्रो हात छैन: भारत

  • प्रकाशित मिति : २०८२ कार्तिक १६, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौंबाट भारतको दिल्ली ट्रान्जिट हुँदै जर्मनीको बर्लिन जाने क्रममा दिल्लीबाट आफूलाई नेपाल फर्काइएको एक नेपाली युवतिको आरोपको भारतले खण्डन गरेको छ ।

सम्भवी अधिकारी नाम गरेकी युवतिले नेपाली पासपोर्ट देखेर भारतीय अध्यागमनका अधिकारीहरुले दिल्ली एअरपोर्टमा आफूलाई अपमानित गरेको र नेपाल फर्काएके आरोप लगाएकी थिइन् । आज भारतको गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अधिकारीको भनाईको खण्डन गरेको हो ।



दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई रोकिएको र पछि काठमाडौं फर्काइएको घटनाबारे भारतले औपचारिक रुपमै विज्ञप्ति निकाल्दै अधिकारीको भनाई पूर्णरुपमा भ्रमपूर्ण र गलत भएको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, “उक्त घटनामा भारतीय इमिग्रेशन अधिकारीहरूको कुनै भूमिका छैन। अधिकारी काठमाडौंबाट एयर इन्डियाको विमानमार्फत दिल्ली आइपुगेकी थिइन् र त्यहाँबाट कतार एयरवेजमार्फत बर्लिन जाने तयारीमा थिइन्। तर कतार एयरवेजले अधिकारीको भिसा म्याद र गन्तव्य देशका नियमहरूका कारण उनलाई उडानमा चढ्न अनुमति नदिएको हो। त्यसपछि एयरलाइन्सले उनलाई फर्काएर काठमाडौं पठाएको हो ।”

दिल्ली ट्रान्जिट मात्रै भएको र त्यसमा भारतीय अधिकारीको कुनै भूमिका नै नहुने विज्ञप्तिमा बताइएको छ । गन्तव्य देशको भिसा र प्रवेश मापदण्डअनुसार एयरलाइन्सले यात्रुलाई अनुमति वा अस्वीकृति दिने अधिकार राख्छ। सोहि अनुसार अधिकारीलाई फिर्ता पठाइएको हो, विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय ट्रान्जिट यात्रुहरूलाई भारतको इमिग्रेशन प्रक्रियाबाट गुज्रिनु पर्ने हुँदैन। त्यसैले यो विषय यात्रु र एयरलाइन्सबीचको हो, भारतीय इमिग्रेशन अधिकारीसँग यसको कुनै सम्बन्ध छैन।”

भारत र नेपालबीचको सम्बन्ध गहिरो, ऐतिहासिक र आपसी विश्वासमा आधारित रहेको उल्लेख गर्दै भारतले भनेको छ, भारत कुनै पनि रूपमा नेपाली नागरिकहरूमाथि भेदभाव गर्दैन।”