नेपाल हङकङ सुपर सिक्सेसको पहिलो खेलमा अफगानिस्तानसँग १७ रनले पराजित

  • प्रकाशित मिति : २०८२ कार्तिक २१, शुक्रबार
  • नेपाल टेल संवाददाता

नेपाल हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तानसँग १७ रनले पराजित भएको छ।

मिसन रोड ग्राउन्डमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ६ ओभरमा पाँच विकेट गुमाउँदै ११२ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो। अफगानिस्तानका लागि करिम जन्नतले ३५ रन, फरानुल्लाह सफीले अविजित ३० रन, कप्तान गुलबदीन नइबले २२ रन र सेदिकुल्लाह पचाले १३ रन जोडे।



नेपालका बलर राशिद खानले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिकसहित चार विकेट लिए। उनले पाँचौं ओभरको पहिलो तीन बलमै सेदिकुल्लाह पचा, अराफुद्दिन अशरफ र इजाज अहमदजाईलाई पवेलियन फर्काए। लोकेश बमले एक विकेट लिए।

जवाफमा, अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याउँदै नेपालले निर्धारित ६ ओभरमा दुई विकेटको क्षतिमा ९५ रन मात्र बनाउन सक्यो। नेपालका लागि सन्दीप जोराले १४ बलमा आठ छक्का र एक चौकासहित ५३ रनको विस्फोटक प्रहार गरे तर रिटायर्ड हर्ट भए। त्यसैगरी मोहम्मद आदिल आलम ११ रनमा अविजित रहे भने राशिद खान र लोकेश बमले समान ११ र १० रन जोडे।

अफगानिस्तानका फरानुल्लाह सफी र इजाज अहमदजाईले समान एक–एक विकेट हात पारे।