काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी, लोकतन्त्र र देश अहिले अभूतपूर्व संकटबाट गुज्रिरहेको भन्दै आन्तरिक शक्ति संघर्ष छाडेर एकजुट हुन नेतृत्वलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस केन्द्रीय समितिको जारी बैठकलाई सम्बोधन गर्दै उनले भने, “आज देश संकटमा छ, हाम्रो पार्टी संकटमा छ, लोकतन्त्र संकटमा छ, हामी व्यक्तिगत रूपमा पनि संकटमा छौँ ।”
महतले महासमितिको बैठकमा कांग्रेसको सम्पूर्ण बहस ८४ को निर्वाचनमा गठबन्धन गर्ने/नगर्ने भन्ने विषयमा केन्द्रित भएको बताए । अहिले केन्द्रीय समितिको छलफल विशेष महाधिवेशन की महाधिवेशन भन्नेमै सीमित भएको उल्लेख गरे । “राष्ट्रिय मुद्दामा छलफल नै भएन, यो दुर्भाग्यपूर्ण हो,” उनले भने ।
उनले संकटको कारण, समाधान र पार्टीको नेतृत्वदायी भूमिकाबारे छलफल हुनुपर्नेमा त्यो हुन नसकेको बताए ।
उनले भदौ २४ गतेको विध्वंशलाई ‘उपलब्धि’ मान्न नसकिने बताए । उनले भने “नवपुस्ताले गत भदौ २३ गते सुशासन सुनिश्चत गर्ने माग राखेर गरेको आन्दोलनप्रति हामी सहमत छौन् तर, २४ गते भएको विध्वंशका घटनाहरूलाई उपलब्धि मान्न सकिँदैन । सिंहदरबार, सर्वोच्च, संसद्, राष्ट्रपति भवनसम्म आक्रमण हुने घटना युवापुस्ताको स्वतःस्फूर्त आवेग होइन, उनीहरू केवल माध्यम मात्र थिए,” उनले भने ।
३६ साल, ४२ साल, ४६ र ६२/६३ का आन्दोलनमा आफू अग्रपंक्तिमा लडेको स्मरण गर्दै उनले थपे, “म जीवनभर संघर्षमा होमिएँ, तर आज पार्टी आफैँ आत्मघाती बनेको देख्दा पीडा हुन्छ ।”