नेपाली कांग्रेसले विघटित प्रतिनिधि सभाका आफ्ना सांसदहरूको हस्ताक्षर संकलन सुरु गरेको छ। भदौ २७ गते प्रधानमन्त्री सुशीला कार्की नियुक्त भएलगत्तै प्रतिनिधि सभा विघटन सिफारिस गरेकी थिइन्। उक्त सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए र फागुन २१ गतेका लागि चुनाव तोकेको छ।
विघटनअघि प्रतिनिधि सभामा कांग्रेसका ८८ जना सांसद थिए। केही सांसद निलम्बनमा परेका थिए। निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसदहरूको हस्ताक्षर लिएर पार्टी केन्द्रीय समितिमा बुझाउने बताए। उनले भने, “सबैको हस्ताक्षर लिएर पार्टी केन्द्रीय समितिमा बुझाउँछौं। न्यायलयको ढोका ढकढक्याउन पनि हस्ताक्षर सुरु गरिएको हो।”
कांग्रेसले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको भन्दै प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर संकलन भइरहेको छ।
यस्तै, नेकपा एमालेले पनि आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गर्दै प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा आफ्नो धारणा स्पष्ट गरेको छ।