नेपाल प्रिमियर लिगका अधिकांश खेल फ्लडलाइटमा हुने, त्रिवि मैदानमा तयारी तीव्र

  • प्रकाशित मिति : २०८२ कार्तिक २५, मंगलवार
  • नेपाल टेल संवाददाता

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका अधिकांश खेल रात्रीकालीन समय अर्थात् फ्लडलाइटमा हुने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार साँझ सार्वजनिक गरेको खेल तालिका अनुसार कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा खेलाइने भएका छन्।

मंसिर १ गते हुने उद्घाटन खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच अपरान्ह ४ बजे सुरु हुनेछ। दिउँसोका ९ खेलबाहेक सबै खेल रात्रीकालीन हुने तालिका क्यानले सार्वजनिक गरेको हो।



क्यानका अनुसार दिनमा एउटा खेल मात्र भए सो खेल फ्लडलाइटमै हुने छ भने दुई खेल हुँदा पहिलो खेल दिउँसो पौने १२ बजे र दोस्रो खेल अपरान्हमा सुरु हुनेछ। मंसिर २ गते चितवन राइनोज र कर्णाली याक्सबीचको खेल दिउँसो पौने १२ बजे सुरु हुनेछ भने सोही दिन विराटनगर किंग्स र पोखरा एभेन्जर्स अपरान्ह ४ बजे भिड्नेछन्।

मंसिर ३, ४ र ५ गते एक–एक खेल दिउँसो ४ बजेबाट सुरु हुनेछन्। मंसिर ६ र ८ गते दुई–दुई खेल हुने कार्यक्रम छ, जसमा पहिलो खेल क्रमशः सवा ११ र पौने १२ बजे सुरु हुनेछ। मंसिर ६ गते दोस्रो खेलमा काठमाडौं र विराटनगर साढे ३ बजे भिड्नेछन् भने मंसिर ८ गते सुदूरपश्चिम र कर्णाली अपरान्ह ४ बजे खेल्नेछन्।

त्यस्तै, मंसिर ९ र १० गते एक–एक खेल ४ बजेबाट सुरु हुनेछ। मंसिर ११, १२, १३, १६, १८ र २० गते दुई खेल हुने तालिका छ, जसमा पहिलो खेल बिहान सवा ११ वा पौने १२ बजे र दोस्रो खेल अपरान्ह साढे ३ वा ४ बजे सुरु हुनेछन्।

मंसिर १४, १७, १९ र २१ गतेका खेल भने रात्रीकालीन समयमै हुनेछन्। लिग चरणपछि हुने सबै खेल पनि फ्लडलाइटमा खेलाइने छन्।

क्यानका अनुसार पहिलो क्वालिफायर (मंसिर २२), इलिमिनेटर (मंसिर २४) र दोस्रो क्वालिफायर (मंसिर २५) का खेलहरू अपरान्ह ४ बजे सुरु हुनेछन् भने फाइनल खेल मंसिर २७ गते शनिबार दिउँसो साढे ३ बजे हुनेछ।

नेपालमा पहिलो पटक क्रिकेट खेल फ्लडलाइटमा खेलिन लागेको हो। यसका लागि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा फ्लडलाइट जडानको काम तीव्र गतिमा भइरहेको छ। निर्माण कम्पनीले आगामी बुधबारसम्ममा लाइट जडान सम्पन्न गरी परीक्षण सुरु गर्ने तयारी गरेको क्यानका व्यवस्थापक विनोद दासले जानकारी दिए।

त्रिवि मैदानमा १० हजार सिट क्षमताको रंगशाला तयार भइसकेको छ। यसअघि मैदानको चौरमा बसेर खेल हेर्ने दर्शकले अब भने आरामदायी कुर्सीमा बसेर खेलको आनन्द लिन पाउने भएका छन्।