कर्णाली याक्स स्पोर्ट्स प्रालिबाट खेल्न भारतका अनुभवी क्रिकेटर प्रियाङ्क किरित पञ्चाल दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) का लागि काठमाडौं आएका छन्। उनी बिहीबार राति एयर इन्डियामार्फत काठमाडौं उत्रिएका हुन्।
३५ वर्षीय ओपनर प्रियाङ्कले हालै भारतीय टोलीबाट हङकङ सुपर सिक्सेस खेलेका थिए। गुजरातबाट रणजी ट्रफी खेल्दै आएका उनले १२७ प्रथम श्रेणी खेलमा ८ हजार ८५६ रन बनाएका छन्, जसमा २९ शतक र ३४ अर्धशतक समावेश छन्। लिष्ट-एमा ९७ खेल खेलेका उनले ८ शतकसहित ३ हजार ६७२ रन जोडेका छन् भने टी–२० मा ५९ खेलमा ९ अर्धशतकसहित १ हजार ५२२ रन गरेका छन्।
कर्णाली याक्सले यसअघि हस्पिटालिटी पार्टनरका रूपमा काठमाडौंको होटल याक एण्ड यतिसँग तथा सह-प्रायोजकमा एसियन पेन्ट्स, नेबिको र प्लम्बर पाइप्ससँग सम्झौता गरिसकेको छ।
२०८१ मंसिर १५ देखि पुस ६ सम्म सम्पन्न पहिलो संस्करणमा कर्णाली याक्स दोस्रो क्वालिफायरसम्म पुगेको थियो। दोस्रो संस्करणमा पनि टोलीले कप्तान ज्ञानेन्द्र मल्ललाई प्रशिक्षकका रूपमा निरन्तरता दिएको छ। टोलीका कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेत छन्।
कर्णाली याक्सले मार्की खेलाडी सोमपाल कामीसहित गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ। अक्सनमार्फत पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेललाई अनुबन्ध गरिएको छ।